
३० असोज, काठमाडौं । पर्साको ठोरीमा मानव र वन्यजन्तुबीच उत्पन्न द्वन्द्व न्यूनीकरण गरी पर्यापर्यटनको विकास गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्यटकीय स्थल राइधारामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने विषयमा छलफल भएको निर्मल-ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मध्यवर्ती क्षेत्रमा पर्यापर्यटन विकास, स्थानीयको आयआर्जन वृद्धि गर्ने लगायतका विविध विषयमा पनि छलफल भएको छ ।
कार्यक्रममा सहभागी हुन डब्ल्यूडब्ल्यू एफ एसियाकी डारेक्टर कट्जुचा डोरेफेल र डब्ल्यूडब्ल्यू एफ नेपालका म्यानेजर डा. अनन्त भण्डारी ठोरी पुगेका थिए । दुवै जनाले ठोरी मध्यवर्ती क्षेत्रमा पर्यापर्यटन, आयआर्जन लगायतका क्षेत्रमा सहयोग पुग्ने गरी विविध कार्यक्रम उपलब्ध गराउने आश्वासन दिएको बस्नेतले बताए ।
ठोरी गाउँपालिका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग सटेको स्थानीय तह हो । यस क्षेत्रका स्थानीय बासिन्दा जंगली हात्ती लगायतका वन्यजन्तुबाट प्रताडित छन् ।
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, चोरी शिकारी प्रतिरोध इकाइका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमसँगै पर्यटकीय स्थल राई धारा क्षेत्रमा वृक्षारोपण समेत गरिएको बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4