३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा विभिन्न खेल भइरहेका छन् । तर, बिजुली बत्तीको उचित व्यवस्थापन नहुँदा पटकपटक बत्ती जाँदा इन्डोरमा भइरहेका खेल प्रभावित भइरहेको छ ।
असोज २५ गते विद्युत जाँदा बहुउद्देश्यीय कभर्डहलमा भइरहेको ह्यान्डबल प्रतियोगिता करिब २ घन्टा प्रभावित बन्न पुग्यो । उक्त कभर्डहलमा असार दोस्रो साता विद्युत सर्ट हुँदा आगलागीसमेत भएको थियो । तर, सर्ट भएको विद्युत नबनाउँदा अहिले नवौं अन्तर्गत त्यहाँ हुने खेल तथा खेलाडी प्रभावित बन्न पुगेका छन् ।
सोही कभर्डहलमा आइतबार उद्घाटन हुने तालिका रहेको उसु प्रतियोगिता पनि लाइन जाँदा प्रभावित भएको थियो । हलमा बिजुली नभएका कारण अँध्यारो हुँदा उद्घाटन नै ढिलो हुन पुग्यो ।
बत्तीको अभावकै कारण महिला खोखो प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश र सुदूरपश्चिमबीचको खेल सोमबारका लागि सरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा भइरहेको समूह चरणको खेल मैदानमा बत्ती अभाव भएपछि खेल्दाखेल्दै खेल स्थगित गरिएको थियो ।
‘बिहान उद्घाटनले गर्दा केही ढिलो भयो । नत्र समयमै सकिने रहेछ । तर, साँझ उज्यालो नपुग्ने भएपछि खेल्दाखेल्दैको खेल रोक्नुपर्यो,’ खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारले अनलाइनखबरसँग भने, ‘भोलि (सोमबार) फेरि सुरुबाटै खेल हुन्छ ।’
पश्चिमाञ्चल खेलकुद विकास समिति प्रमुख लक्ष्मण योगीले भने रंगशालामा बत्तीको समस्या नरहेको जिकिर गरे । उनले बत्ती जाने ठाउँमा जेनेरेटरको व्यवस्था गरिएकाले समस्या नहुने दाबी गरे । ‘त्यस्तो बत्ती गएर खेलै रोकिने भन्ने छैन । अहिले त झन् जेनेरेटरको व्यवस्था गरिएकाले त्यस्तो समस्या छैन,’ उनले भने ।
राउन्ड रोबिन लिगआधारमा भइरहेको खोखोमा नेपाल आर्मी र नेपाल पुलिससहित ९ टिम सहभागी छन् । आइतबारदेखि सुरु भएको खेलमा समूह चरणअन्तर्गत ७ खेल भएका छन् । कात्तिक ३ गते सकिने प्रतियोगितामा दोस्रो दिन समूह चरणका ९ खेल हुनेछन् ।
प्रतिक्रिया 4