+

स्क्वासमा तेस्रो पटक पनि गण्डकीका अमृतलाई स्वर्ण

२०७९ असोज  ३१ गते १३:१० २०७९ असोज ३१ गते १३:१०
स्क्वासमा तेस्रो पटक पनि गण्डकीका अमृतलाई स्वर्ण

३१ असोज, पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा गण्डकीका अमृत थापा मगरले पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अरहन्तकेशर सिम्हलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

यो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

लगातार तेस्रो पटक राष्ट्रिय खेलकुद मा स्वर्ण जितेका अमृतले खुशी व्यक्त गरे । ‘लगातार स्वर्ण जित्दा खुशी छु। अरहन्तले अरुमा जितिरहेको थियो, आजको खेल प्रतिस्पर्धामक थियो,’ अमृतले भने, ‘जितको श्रेय बुबालाई दिन्छु ।’

अमृतका बुबा हिराबहादुर थापा पूर्व राष्ट्रिय च्याम्पियन तथा हाल राष्ट्रिय टिमका प्रशिक्षक हुन् । अरहन्तले भने डेंगु संक्रमणबाट भर्खरै रिकभर भएर आएकोले फिटनेस लेभल कम रहेको र मानसिक रुपमा तयार हुन गाह्रो भएको बताए ।

खेलमा पहिलो सेटमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते ।

दोस्रो पटक हार व्यहोरेका अरहन्तले रजत पदक प्राप्त गरे बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कांस्य पदक जिते ।

पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए । उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जना खेलाडीको सहभागिता छ ।

अमृत थापा मगर नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय