
काठमाडौं । विश्वचर्चित टेलिभिजन पर्सनालिटी बियर ग्रिल्स सपरिवार नेपाल आइपुगेका छन् । आइतबार बेलुका काठमाडौं आइपुगेका उनी सोमबार बिहान लुक्लातर्फ उडेका छन् ।
कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी लुक्लातर्फ प्रस्थान गरेका हुन् ।
लुक्लामा उनले स्काई डाइभिङ गर्ने भएका छन् ।
एलिट एक्सिपिडसनका आरोही मिङ्मा डेभिड शेर्पाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बियर ग्रिल्स नेपालमा एक साता रहनेछन् । ‘उहाँ विशुद्ध पारिवारिक घुमघाममा आउनुभएको हो,’ उनले भने ।
लुक्लामा स्काई डाइभिङ गर्नेदेखि सगरमाथा क्षेत्र घुमघाम गर्ने ग्रिल्स परिवारको योजना छ । स्काई डाइभिङको लागि अनुमति मागिएको शेर्पाले जानकारी दिए ।
ग्रिल्सले यसअघि सगरमाथा र आमादब्लम हिमाल चढिसकेका छन् । ग्रिल्स डिस्कभरी च्यानलको ‘म्यान भर्सेस वाइल्ड’ एड्भेन्चर शोका कारण विश्वभर चर्चित छन् ।
नेपालमा पनि उनको ठूलो फ्यान फलोइङ छ । गत वर्ष नै उनलाई नेपाल ल्याउने जानकारी पूर्जा दिइसकेका थिए । नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’पछि ग्रिल्स र पूर्जाको आरोहण कम्पनीबीच सहकार्य भएको बुझिएको छ ।
प्रतिक्रिया 4