१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो ।
पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए । आर्मीले खेलको सुरुवात देखि गण्डकीलाई दबाबमा राखे पनि पाएको अवसरको उचित सदुपयो गर्न नसक्दा १–० मै चित्त बुझाउन बाध्य भएको हो ।
आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।
सुदूरपश्चिम प्रदेश र एपीएफबीच हुने खेलको विजेतासँग आर्मीले फाइनलमा खेल्ने छ ।
प्रतिक्रिया 4