१ कात्तिक, पोखरा । काठमाडौं कपनकी आभाना कार्कीले बाबुको पछि लाग्दालाग्दै सफ्ट टेनिस खेल्न सिकिन् । उनका बाबु अभिषेक कार्की सफ्टटेनिसका राष्ट्रिय खेलाडी हुन् ।
पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएकी आभानाले यसपटक भने नयाँ अनुभव संगाल्ने मौका पाइन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा टेनिस कोर्टमा भएको मिक्स डबल्स सफ्ट टेनिस विधामा बागमती प्रदेशबाट बाबुछोरी सँगै मैदानमा उत्रिएनन् मात्रै प्रदेश १ माथि जित पनि निकाले ।
यो अनुभव आफ्ना लागि ऐतिहासिक भएको आभानाले अनलाइखबरसँग सुनाइन् । ‘बाबासँगै सिकेर उहाँसँगै खेल्न पाउँदा एकदमै खुसी लागेको छ’, उनले भनिन् । अब अर्को खेल लुम्बिनी प्रदेशसँग छ । त्यसमा पनि बाबुछोरीले सँगै प्रतिद्वन्द्वीको सामना गर्नेछन् ।
छोरीसँगै खेलेर विपक्षीमाथि जित हासिल गर्दा खुशी लागेको बाबु अभिषेक कार्कीले सुनाए । आठौं खेलकुदमा बाबुछोरी दुबै सहभागी भए पनि सँगै खेल्न पाएका थिएनन् ।
‘शौभाग्य पाएकोजस्तो लागिराखेको छ, सँगै प्राक्टिस गरियो । आज सँगै मैदानमा खेल्नमात्रै पाइएन, जित्न पनि पाइयो, ठूलै उपलब्धी पनि पाइयो’, कार्कीले भने, ‘आठौंमा सँगै टिममा परे पनि खेल्न पाइएन । मिक्स डबल्स २ टिममात्रै खेलाउँदा हामी सँगै खेल्न पाएका थिएनौं ।’
अभिषेक सातौंदेखि राष्ट्रिय खेलकुदबाट राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए भने छोरी आभाना राखेप कपदेखि राष्ट्रिय खेलमा भाग लिन थालेकी हुन् । उनले टिम इभेन्टतर्फ राखेप कप र आठौं राष्ट्रिय खेलकुद दुवैमा रजत पदक पाइसकेकी छन् ।
बुवा अभिषेकले भने सातौं राष्ट्रिय खेलकुदमा एकल सफ्ट टेनिसतर्फ कांस्यपदक जितेका थिए । ‘आठौंको टिम इभेन्टमा गोल्ड, राखेप कपमा पनि गोल्ड मेडल नै पाएको हुँ,’ उनले सुनाए ।
आभाना जारी खेलमा भने स्वर्ण लक्ष्य राखेर मैदानमा उत्रिएको सुनाउँछिन् । ‘निश्चय नै सबै खेलाडीको लक्ष्य नै गोल्ड हुन्छ । त्यसका लागि अझै फेस गर्नुपर्नेछ,’ उनले भनिन्, ‘तर, यो पालि मेरो एसईईले गर्दा पनि धेरै प्राक्टिस छुटेको छ ।’
बुवा अभिषेक छोरीलाई नेपालकै सफल टेनिस खेलाडीका रुपमा अघि बढाउन चाहन्छन् । ‘उमेर पनि सानै छ त्यही भएर मेरोभन्दा पनि धेरै चान्सेस उसलाई छ । अझै राम्रो प्राक्टिस गराउनुपर्नेछ’ उनले भने ।
आभाना अहिले कक्षा ११ पढिरहेकी छन् ।
प्रतिक्रिया 4