
अहिलेको समय इन्टरनेट मिम्सको समय हो । कमिक इफेक्ट दिनका लागि मानिसहरु प्रायः फोटोसप गरिएका तस्वीर प्रयोग गर्दछन् । तर अहिले तस्वीरमा परिवर्तनको एक नयाँ चलन देखिन थालेको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर यस्ता सक्कली जस्तै भिडियो पनि बनाउन सकिन्छ ।
यस्तो खालको ‘डिप फेक’ भिडियो पहिचान गर्न निकै मुस्किल हुन्छ । वास्तविक जस्तै लाग्ने यस्ता नक्कली भिडियोले कसैको छविमै क्षति पुर्याउन सक्छ ।
डिप फेक अर्थात् गहन फर्जी शब्दको पहिलोपटक सन् २०१७ मा प्रयोग भएको हो । यो प्रविधिले भिडियो तथा तस्वीरलाई घुमाउन सक्छ, विभाजन गर्न सक्छ र दायरा बदल्न सक्छ । यसबाट असली भिडियो पहिचान गर्न मुस्किल हुन्छ र नक्कली भिडयो पनि सक्कली जस्तै देखिन्छ ।
संसारभर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि सुलभ बनिरहेको छ र धेरैभन्दा धेरै मानिसले यसको प्रयोग गर्न थालेका छन् । डिप फेकलाई पहिचान गर्न कठिन हुने भएकाले पनि यसलाई युट्युब, फेसबुक तथा ट्वीटर जस्ता प्लेटफर्मबाट सजिलै संसारभर फैलाउन सम्भव हुन्छ ।
एक शोधअनुसार हाल विश्वका धेरै युवाले समाचार थाहा पाउन पनि सोसल मिडिया नै प्रयोग गर्छन् । यस्तोमा कम्पनीहरुले भने डिप फेक रोक्न कुनै प्रयास गरिरहेका छैनन् । आउने दिनमा यस्ता भिडियोको बाढी नै आउन सक्छ । यसबाट विभिन्न खालका खतरा पैदा हुनुको साथै सूचनाको विश्वसनीयता समाप्त हुनसक्छ । त्यसैले डिपफेकलाई निस्तेज पार्न सामूहिक प्रयासको खाँचो छ ।
डिप फेकले महिलाहरुको आत्मसम्मानमा ठूलो क्षति पुर्याइरहेको छ । कुनै महिलाको अनुहारलाई अश्लील भिडियोमा जोडेर त्यस्ता भिडियो तयार गरी महिलामाथि प्रताडना तथा हिंसा गर्ने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।
हाउभाउबाट गर्न सकिन्छ पहिचान
विभिन्न व्यक्ति तथा संगठन मिलेर डिप फेक पहिचान गर्न एल्गोरिदमको विकास गर्ने योजना बनाइरहेका छन् । यदि तपाईंले सावधानीपूर्वक नियाल्नुभयो भने त्यो भिडियो डिपफेक हो कि होइन पत्ता लगाउन सक्नुहुन्छ । भिडियोमा अनुहारको हाउभाउबाटै डिप फेक पत्ता लगाउन सकिन्छ ।
केही दिन अगाडि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको भनिएको एक भिडियो सार्वजनिक भयो । जसमा ओबामाले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अपशब्द भनिरहेका थिए । तर वास्तवमा उक्त भिडियोमा बोल्ने व्यक्ति ओबामा होइन रहेछन् । उनको अनुहारलाई निकै उत्कृष्ट ढंगले परिवर्तन गरिएको छ । त्यसैले अहिलेको इन्टरनेटको दुनियाँमा यस्तो गम्भीर अपराध पनि हुनसक्छ ।
यदि तपाईंले हेर्नुभएको कुनै भिडियोमा कुनै गडबडी महसुस गर्नुभयो भने युट्युब वा अन्य कुनै अनलाइन प्लेटफर्ममा त्यसको दोस्रो भर्सन खोज्नुपर्छ । यसका लागि तपाईंले गुगल इमेज सर्चको सहयोग लिन सक्नुहुन्छ । युट्युब डाटा भ्युअरले पनि कुनै भिडियो कहिले अपलोड गरिएको हो बताउन सक्छ । यसले रिभर्स इमेज सर्चिङका लागि पनि थम्बनेल उपलब्ध गराउँछ ।
डिपफेक रोक्न सबैभन्दा उत्तम उपाय भनेकै तपाईंले सोसल मिडियामा जे पायो त्यही सामग्री सेयर गर्ने आफ्नो आदतलाई काबुमा राख्नुपर्छ ।
फेसबुक सीईओ मार्क जुकरबर्गले पनि वास्तविक जस्तै लाग्ने फर्जी भिडियो रोक्न गहन विश्लेषण आवश्यक रहेको र यस विषयमा एक नीतिको विकास गर्नु आवश्यक रहेको बताएका छन् । डिप फेक भिडियो नितान्त फरक खालको भिडियो भएको हुँदा त्यसलाई गलत जानकारी दिने भिडियोभन्दा अलग राखेर हेर्नुपर्ने जुकरबर्गको मत छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4