
काठमाडौं । वर्ष २०७९ को दोस्रो अर्धवार्षिक फिल्म रिलिजको श्रृंखला भोलि (शुक्रबार)देखि थालनी हुँदैछ । अघिल्लो ६ महिनामा चारवटा फिल्म मात्र व्यावसायिक रुपमा सफल रहे ।
वर्षको बाँकी ६ महिनामा पनि केही फिल्म व्यावसायिक सफल हुने प्रक्षेपण गरिएको छ । जसमध्ये दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ एक हो, जसलार्ई लिएर दर्शकमाझ प्रतीक्षा छ ।
काठमाडौंमा घर बनाउने मध्यमवर्गीय सपनाको कथावस्तुमा बनेको फिल्मसँग केही अपेक्षा पनि छन् । किनभने यो फिल्मसँग घरेलु फिल्मका ठूला नामहरु जोडिएका छन्, जसको उपस्थितिले पनि बक्स अफिसमा पैसा छाप्न सक्छ ।
‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक खनाल, ‘कबड्डी’ फेम्ड दयाहाङ राई र अभिनेता विपिन कार्कीको ब्राण्ड छ फिल्मसँग । तर यो ब्राण्डले के फिल्मले शुक्रबार उच्च ओपनिङ गर्न सक्ला ?
हलमा दयाहाङको ‘दुई नम्बरी’ले आक्रामक कमाइ गरिरहँदा उनकै अर्को फिल्म ‘के घर के डेरा’ लाग्दैछ । वर्ष २०७९ मा दयाहाङकै ‘कबड्डी ४’ सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो । यसर्थ, उनका लागि ‘के घर के डेरा’ ह्याट्रिकको अवसर हो ।
‘पशुपतिप्रसाद’पछि दीपेन्द्र र विपिनबीच सहकार्य भएको छ । ट्रेलरबाट विपिनले राम्रै प्रतिक्रिया प्राप्त गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले ‘पशुपतिप्रसाद’को भस्मे डनको छविलाई ‘के घर के डेरा’को शंखे दादाको छविले मेटाइदिने बताइसकेका छन् ।
अनौपचारिक कुराकानीमा पनि विपिनले यो फिल्मबाट आफूले ठूलै आशा लिएको बताइसकेका छन् । क्यूएफएक्ससहित मल्टिप्लेक्सले राम्रो संख्यामा शो दिएका छन् । नेपाली फिल्मका लागि यो सुखद शो हो । सामान्य अवस्थामा नेपाली फिल्मको टिकट झ्यालबाटै बिक्ने गर्छ ।
यस्तोमा, के घर के डेराको ओपनिङ र कमाइ राम्रो हुनसक्ने अनुमान गरिएको छ । शुक्रबारै हलिउड फिल्म ‘ब्ल्याक एडम’ र नेपाली फिल्म ‘नालापानी’समेत प्रदर्शन हुँदैछन् ।
प्रतिक्रिया 4