
काठमाडौं । सप्तरंगी पर्व, तिहार । दियो-बत्तीको उज्यालो, देउसी-भैलोको मधुर धुन, सेलरोटीको सुगन्धसँगै घर-आँगनमा बनाइने रंगोलीले तिहारको रौनक थप्छ ।
कुनै पनि शुभकार्यमा रंगोली बनाउने प्रचलन छ । यद्यपि अन्य अवसरमा भन्दा पनि तिहारको बेला घर-आँगनमा रंगोली बनाएको देखिन्छ ।
रंगोलीको महत्व
रंगोलीको एक नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वर्णित चौसठी कलामा एक हो । यो अति प्राचीन लोककला हो । प्राचीनकालमा विश्वास गरिन्थ्यो कि, घरमा कलात्मक चित्र, आकृतिले धन ऐश्वर्य प्राप्त हुन्छ ।
रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले घर-आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धीकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ ।
यसको अर्को अर्थ के पनि हो भने हाम्रो शरीर नश्वर छ भन्ने जान्दाजान्दै पनि जीवनलाई रंगीन बनाउनुपर्छ भन्ने यसको सांकेतिक अर्थ छ । यो रचनात्मक अभिव्यक्तिको माध्यम समेत हो ।
रंगोली बनाउने चलन पहिलेदेखि नै
चाडपर्वमा रंगोली बनाउने चलन सदियौंदेखि चलिआएको छ । रंगोली शब्द संस्कृत शब्द ‘रंगावली’बाट आएको हो, जसको अर्थ रंगहरूको पंक्ति हो ।
रंगोली एक त्यस्तै सांकेतिक आकृति हो । रंगोलीलाई धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक पनि मानिन्छ । कुनै पनि आध्यात्मिक प्रक्रियामा रंगोलीलाई महत्वपूर्ण मानिन्छ । त्यसैले हवन वा यज्ञमा रंगोली बनाइन्छ । घर-आँगनमा रंगोली बनाउँदा घर शुद्ध हुन्छ भन्ने विश्वास छ ।
पूर्वीय शास्त्रअनुसार कुनै पनि शुभकार्य सुरु गर्नुअघि रंगोली मनाउँदा त्यहाँ सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसका साथै यदि त्यस स्थानमा कुनै नकारात्मक ऊर्जा छ भने त्यो नष्ट हुन्छ ।
कुन दिशामा उपयुक्त ?
रंगोली घरको कुन दिशामा बनाउने भनेर किटान गरिएको छैन । लक्ष्मीलाई रंगोलीले स्वागत गर्ने भएको हुँदा घरको मूलद्वार अगाडि बनाउनु शुभ मानिन्छ ।
त्यस्तै घरको मूलद्वारबाट सकारात्मक उर्जा पनि आउने भएकाले विशेष मूलद्वारअघि नै बनाउनुपर्ने बताइन्छ ।
परम्परागत रंगोली कस्तो हुनुपर्छ ?
तिहारको लागि रंगोली स्वस्तिक चिन्ह वा गणेशजीको आकृतिमा सजाउन सकिन्छ । यसमा साधारण ज्यामितीय आकार हुन्छ । त्यसमा विभिन्न देवीदेवताको आकृति बनाइन्छ । रंगोलीका लागि सिन्दूर वा अन्य थुप्रै किसिमको रंग प्रयोग गर्न सकिन्छ । सुख्खा रंगहरुको प्रयोगबाट मात्रै पनि रंगोली बनाउन सकिन्छ ।
रंगोली बनाउनुभन्दा अघिल्लो रात नै चामललाई भिन्नाभिन्नै रंगमा भिजाउने र सो रंगीन चामलले रंगोली बनाउन सकिन्छ । चामल वा मैदाको पीठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ । रंगोलीलाई सयपत्री फूलले सजाउन सकिन्छ । त्यसको बीचमा वा कुनामा दियो बाल्न सकिन्छ ।
रंगोलीको डिजाइन
परम्परागत रंगोली
परम्परागत रंगोली चामलको पीठो र सेतो चकको पाउडरबाट बन्छ । रंग छैन भने यसरी रंगोली बनाउन सकिन्छ । यो डिजाइन लाइन र डट्सद्वारा बनाइन्छ । यो एकदम सजिलो छ ।
अमूर्त रंगोली
यसमा चम्किलो रंगबाट अनौठो डिजाइन तयार गरिन्छ । एउठा ठूलो फूल र त्यसको वरिपरि चम्किलो रंगले जोकोहीलाई आकर्षित गर्छ ।
ईश्वरको रंगोली
यसमा देवीदेवताको तस्वीर उतार्न सक्नुहुन्छ । त्यसो त भगवान गणेशको चित्रको रंगोली बढी बनाइन्छ, तर तपाईं आफ्नो इच्छाअनुसार जुनसुकै देवीदेवताको आकृति पनि बनाउन सक्नुहुन्छ ।
फूलबाट निर्मित रंगोली
फूलबाट पनि रंगोली बनाउन सकिन्छ । यसबेला सयपत्री फूल प्रशस्त पाइने भएकाले सयपत्री, मखमली आदि फूलबाट आकर्षक रंगोली बनाउन सकिन्छ ।
ज्यामितीय रंगोली
यो डिजाइन निकै आकर्षक हुन्छ । यसमा रेखा तथा ज्यामितीय डिजाइनबाट रंगोली बनाइन्छ । यसमा तपाईं दियोको प्रयोग पनि गर्न सक्नुहुन्छ ।
रंगीन चामलबाट रंगोली
चामललाई रंगमा मिलाएर तपाईं यस्तो रंगोली बनाउन सक्नुहुन्छ । चामललाई अघिल्लो दिन नै रंगमा भिजाएर अर्को दिन सुख्खा भएपछि रंगोली बनाउन सकिन्छ ।
तस्वीरहरु
प्रतिक्रिया 4