
४ कात्तिक, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले त्यहाँको फेडरेशन अफ पाकिस्तान चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीसँग भेट गरेर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । त्यसका लागि उनले पाकिस्तानी उद्यमी, व्यवसायीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।
चेम्बरका अध्यक्ष इकबाल शेख र अन्य पदाधिकारीसँगको भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच मैत्री, आपसी विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई लगानी र आर्थिक साझेदारीमा गर्ने बेला भएको बताए ।
राजदूत अधिकारीले व्यापार प्रवर्द्धन र प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नेपाल सरकारको नीतिका विषयमा पनि पाकिस्तानी निजी क्षेत्रलाई जानकारी गराएका छन् ।
‘नेपाल र पाकिस्तान छिमेकी हुनुका साथै दुवै सार्कका सदस्य राष्ट्रसमेत हुन् । हाम्रा समान साँस्कृतिक र सामाजिक पृष्ठभूमि पनि छन्,’ उनले भने, ‘त्यसैले यहाँका उद्यमी र व्यवसायीलाई परिचालन गर्न चेम्बरको ठूलो भूमिका हुने हुँदा मैले उनीहरूलाई व्यवसायको अवसर खोज्न नेपाल भ्रमण गर्न सुझाव दिएको छु ।’
चेम्बरका अध्यक्ष र पदाधिकारीहरूले नेपाल भ्रमणका लागि दिएको निम्तोका लागि धन्यवाद दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न इच्छुक रहेको बताए ।
उनीहरुले व्यापारका अवसर खोज्न र नेपाली व्यवसायीसँग अन्तर्क्रिया गर्न नेपाल भ्रमणको कार्यक्रम बनाउने पनि आश्वासन दिएका राजदूत अधिकारीले बताए ।
प्रतिक्रिया 4