
४ कात्तिक, बुटवल । बैंक ब्याजदर एक अंक (१० प्रतिशत भन्दा कम) कायम गर्न माग गर्दै रुपन्देहीका ५० बढी उद्योगी व्यवसायीका संस्था सडक आन्दोलनमा उत्रिएका छन् ।
कोभिड–१९ ले थला परेर तङ्ग्रिन नपाउंदै बैंक ब्याजदरमा चर्को वृद्धिले उद्योग व्यवसाय धराशायी हुन लागेको भन्दै कर्जाको ब्याजदर एक अंकमा झार्न नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशिका लागू भएमा उद्योगी व्यवसायी आफ्नो कारोबार बन्द गरी चरणवद्ध आन्दोलनमा होमिन वाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।
रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूको सञ्जाल रुपन्देहीका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले पुँजी विस्तार गरी उद्योग ब्यवसाय बचाइराख्न हालै नेपाल राष्ट्र बैँकद्वारा लागू गरिएको चालू पुँजी कर्जा निर्देशिका २०७९ खारेज गर्न माग गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बुटवल, रुपन्देही उद्योग संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, पश्चिम नेपाल बस ब्यवसायी प्रालि, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायत ५० वटा व्यवसायिक संस्था राष्ट्र बैंकको नयाँ नीतिविरुद्ध आन्दोलनमा छन् ।
प्रतिक्रिया 4