+
+

दानकी खानी मैयाँदेवी श्रेष्ठ   

रासस रासस
२०७९ कात्तिक ६ गते १७:४७

६ कात्तिक, चितवन । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहिनन् । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी श्रेष्ठको आइतबार ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ ।

शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागि परेकी श्रेष्ठ धेरैका लागि श्रेय र प्रिय थिइन् । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्ने उनी नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन् ।

विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उनले क्रान्तिमा सहभागिता जनाइन् । विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उनको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उनका साथीले ज्यान गुमाएका थिए । तत्कालीन समयमा विसं २००८ मा तनहुँको बन्दीपुरमा सामाजिक नारी सङ्घ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उनी अगाडि बढेकी थिइन् ।

विसं २०११ मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२ मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३ सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उनले योगदान दिइन् । निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा मैयादेवी गिरफ्तारीमा परेकी थिइन् । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उनको भूमिका महत्वपूर्ण रह्यो ।

विसं २०१७ पुस १ गते मुलुकमा स्थापित प्रजातन्त्रलाई कुठाराघात गरी पञ्चायती व्यवस्थाको निरङ्कुश शासन मुलुकमा सञ्चालन भएको अवस्थामा प्रजातन्त्रको पुनःस्थापनाका लागि उनी गोप्य रूपमा सङ्गठनमा लागिन् । विसं २०१७ देखि २०१९ सम्म देवघाटमा बसेर पार्टीका लागि निरन्तर काम गरिन् । विसं २०३६ मा चितवन जिल्ला महिला सङ्घको अध्यक्ष भएर जनमतसङ्ग्रहमा भाग लिइन् । विसं २०४२ मा सत्याग्रह सफल पार्न भूमिका निर्वाह गरेकी श्रेष्ठ विसं २०४४ मा बिपी स्मृति दिवसका दिन पक्राउ परिन् ।

विसं २०४६ को जनआन्दोलनमा चितवनमा सक्रिय भूमिका निर्वाह गरेकी उनी २०४८ सालमा पार्टीले टिकट दिएपछि गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएकी थिइन् ।

‘सुश्री मैयाँदेवी श्रेष्ठ, व्यक्ति एक : व्यक्तित्व अनेक’ पुस्तकमा लेखिएअनुसार श्रेष्ठले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय पर्यवेक्षकको रूपमा सिन्धुलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । तनहुँ क्षेत्र नं २ बाट उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुनिएकी थिइन् ।

विसं २०५२ साउन ४ गते नेपाली कांग्रेस केन्द्रीय सङ्गठन विभागको सदस्य पदमा मनोनित भएकी उनी २०५८ साल असार १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन् । विसं २०६२ असार १७ गते मैयादेवी त्रिभुवन विश्वविद्यालय सभामा मनोनित भइन् ।

विसं २०६२/६३ को जनआन्दोलनमा पनि मैयादेवी सक्रियपूर्वक लागिन् । विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेकी थिइन् । आफ्नो जीवनभर अरूका लागि समर्पित मैयादेवी दान गरेर कहिल्यैँ थाकिनन् ।

उनले गरेका सानातिना सहयोगको कुनै गणना नै छैन । नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान गरिन् । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उनले नै व्यहोरिन् । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन पनि मैयादेवीले जग्गा उपलब्ध गराइन् ।

उनले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा एक करोड बराबरको जग्गा दान गरेकी छन् । उनले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे (पुरेत), षडानन्द लामिछाने (पुरेत), सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टङ्कनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गरिन् ।

यसैगरी देवी कार्की, इन्दिरा (भान्से), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुच : नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उनले करोडौंँ मूल्य बराबरको जग्गा दान गरेको पुस्तकमा उल्लेख छ । मैयादेवीका धर्मपुत्र टङ्कनाथ पौडेलले अहिले हिसाब गर्दा दान गरेका जमिनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने बताए ।

पल्लो समय उनको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गा ट्रस्टको लागि प्रयोग भएको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था पनि मैयादेवीले गरेकी छन् ।

अविवाहित रहेकी श्रेष्ठले समाजसेवालाई सर्वोपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् ।उनलाई तत्कालीन राजा वीरेन्द्र शाहले समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्रदान गरेका थिए ।

यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्त राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनको अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित भएकी छन् । आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि मैयादेवीले समाजसेवामा नै खर्च गरेकी छन् ।

औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म गरेकी मैयादेवी २०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य भइन् । नेपाली, नेवारी, हिन्दी र अङग्रेजी भाषामा दख्खल राख्ने उनले इजरायल, भारत, बङ्गलादेश, चीन, थाइल्याण्ड, हङ्कङ्, कोरिया, अमेरिका, क्यानडा, बर्मा, इटली, पाकिस्तान, जापान, स्विट्जरल्याण्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, बेलायत र कतारजस्ता देशको भ्रमण गरेकी छन् ।

स्वाध्ययन, अध्यात्म चिन्तन, सामाजिक सुधार र सद्भावका लागि राजनीति भन्ने श्रेष्ठको आफ्नो पूर्ण जीवन समाज र राजनीतिमा बित्यो । चितवनलाई मानवबस्ती बसाउन पनि उनको महत्त्वपूर्ण योगदान छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?