
६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीको पवन कार्की समूहले आसन्न निर्वाचनलाई लक्षित गरी केन्द्रीय निर्वाचन परिचालन समिति घोषणा गरेको गरेको छ ।
१२ हजार ५०१ जना कमाण्डर रहेको भनिएको निर्वाचन परिचालन समितिले निर्वाचनमा हुने जाल, झेल र षडयन्त्रलाई परास्त गर्ने कार्की समूहको दाबी छ ।
समानान्तर गतिविधि गर्दै आएको सो समूहका प्रवक्ता उपदेश यादवले संयोजक पवन कार्की नेतृत्वको समितिले आगामी निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न र निर्वाचन सफल बनाउन भूमिका खेल्ने बताए । साथै माओवादी केन्द्रसहित सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि परिचालित हुने उनले बताए ।
उनका अनुसार केन्द्रीय कार्यालयदेखि मतदान केन्द्रसम्मै परिचालन गर्ने नेता–कार्यकर्ताहरुको जिम्मेवारी निश्चित गरिने छ । ती कमाण्डरहरुले माउ पार्टी माओवादी केन्द्र, उम्मेदवार, सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिसँग समन्वय गरेर काम गर्नेछन् ।
साथै प्रदेश समिति र जिल्ला समन्वय समितिहरुले समन्वय गरी पालिका र बुथ कमाण्डर चयन गरी निर्वाचन परिचालन समिति तत्काल गठन गर्ने पनि प्रवक्ता यादवले बताए ।
प्रतिक्रिया 4