
७ कात्तिक, काठमाडौं । २ असोजको राति अबेर नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग फोनमा संवाद हुँदा उनले तनहुँ–२ नै आफनो पहिलो प्राथमिकता भएको बताएका थिए । त्यतिबेला बालुवाटारमा उम्मेदवार टुंगाउन शीर्ष नेताको छलफल चलिरहेको थियो । पार्टी नेताहरुको जोडबलले उनी काठमाडौं–५ चुनाव लड्न तयार भए ।
संयोग पनि कस्तो भने उनी त्यो क्षेत्रबाट चुनाव लड्दै छन्, जहाँ राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवाससमेत पर्छ । अर्थात् उनी त्यो क्षेत्रबाट लड्दै छन्, त्यो भौगोलिक हिसाबले पनि आफैंमा शक्ति केन्द्र हो ।
सत्ता सञ्चालनको अनुभव र शक्ति केन्द्रमा पहुँचका हिसाबले पनि पौडेल नेकपा एमालेको शक्ति केन्द्रसँगै प्रतिस्पर्धा गर्दैछन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यस क्षेत्रका उम्मेदवार छन् । सँगै युवा मतदाताको ध्यान तान्ने, तर्क र विनयशील स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रशणशमशेर राणासहित २९ उम्मेदवार चुनावी मैदानमा छन् ।
उम्मेदवार बनेको पहिलो दिनदेखि पौडेल चुनावी प्रचारमा जोडतोडसँग छन् । आइतबार उनको प्रचार अभियान पछ्याउने उद्देश्यले हामी विहान सात बजे उनको घर बानियाँटार जाल्पाचोक पुग्यौं । उनी प्रचारको काममा लागिसकेका थिए ।
आइतबारका लागि ६ वटा कार्यक्रम थिए । पहिलो कार्यक्रम– टोखा नगरपालिका–६ मा मतदाता र कार्यकर्तासँग अन्तर्क्रिया गर्ने । ७ः३० बजे स्थानीय पार्टी प्यालेसमा पुगेपनि निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । स्थानीय अगुवा भेट्न उनी टोलतिर लागे ।
आधा घण्टापछि कार्यक्रममा फर्किएका उनले राजनीतिक पृष्ठभूमि, भावी योजना, अघिल्लोपटक जितेका उम्मेदवारको भूमिका बिषयमा उनले आफनो धारणा राखे । ‘मत दिने र मत लिनेले त्यसको महत्व बुझेनौं । उम्मेदवारबाट हामीले खोजेको कुरा पाइरहेका छौं कि छैनौं ?’ पौडेलले सोधे ।
उनले यसै क्षेत्रबाट अघिल्लोपटक निर्वाचित ईश्वर पोखरेलको भूमिकाप्रति प्रश्न उठाए । ‘तपाईंहरुको मत लिएर गएपछि पाँच वर्षसम्म नफर्कने टुरिष्ट कि म टुरिष्ट ?’ पौडेलले एमालेले लगाएको आरोपमाथि जवाफ दिए ।
एक मतदाताले भने, ‘तपाईले सुशासन दिने आधार के हो ?’ चुनावी प्रचार छिटो छरितो नभएको प्रति अर्का एक सहभागीले चुस्त हुनुपर्ने सुझाव दिए ।
सो कार्यक्रममा पौडेल माथि मतदाताले उठाएका थप प्रश्नहरु यस्ता थिए :
–तपाई अहिलेसम्म निष्कलंक हुनुहुन्छ । पदमा पुगेपछि तपाईं पनि त्यस्तै हुने हो कि ?
–रुखमा मात्रै भोट दिन किन पाइँदैन ?
–कांग्रेस आफ्नै विचारमा हिँड्न सक्दैन ?
–कांग्रेसभित्र किन समूह छन् ?
–युवाहरु नेपालमै रहने वातावरण किन बनेन ?
सहभागीका प्रश्नपछि जवाफका लागि माइक पौडेलतिर फर्कियो ।
उनले पार्टी भित्रको शुद्धीकरणका लागि आफू लागि परेको जवाफ दिए । कांग्रेस एक्लै लड्न सक्ने भएपनि पनि शीर्ष नेतृत्व तयार नहुँदा तालमेल बाध्यतात्मक परिस्थिति रहेको सुनाए ।
उनलाई अर्को ठाउँमा पुग्नुपर्ने हतारो थियो । तारन्तार फोन आएपछि कार्यक्रम छोट्याए । विहान करिब १०ः३० बजे कार्यक्रम सकेर टोखा–६ कै अर्को कार्यक्रमतिर लागे ।
मैले उनले अघिल्लो कार्यक्रममा भनेको बीसीडी अवधारणाबारे जान्न खोजे । उनले वौद्धिक पलायन रोक्न (स्टप ब्रेन ड्रेन), भ्रष्टचार विरुद्ध लड्न (फाइट करप्सन) तथा दिगो विकासका लागि (सस्टेनेबल डेभप्लमेन्ट) योजनाबारे बताए ।
‘युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ । भ्रष्ट्राचारको गति यस्तै रह्यो भने राजनीतिले सेवा प्रवाह गर्न सक्दैन’ पौडेलले भने, ‘हामीले गर्ने विकास दिगो हुन सकेन भने हामीले गरेको खर्चको उपलब्धी हासिल हुदैन ।’
युवा सहभागिता रहेको एउटा भेलामा जाँदै गर्दा पौडेल वडाकै अर्को कार्यक्रममा पनि पुग्नुपर्ने थियो । तर, उनले बीचमै अर्को समूह भेट्नुपर्ने भयो । स्थानीय पार्टी प्यालेसमा देउसी खेल्न लागेका एउटा टोलीसँग उनले भेटे । स्थानीय ‘दैलो इभेन्टस्’ मा पुगेर उनले सो टोलीलाई करिब १० मिनेट समय दिए । देउसी टोलीसँग फोटो खिचाए । आफ्नो मुख्य काम भोट मागे ।
त्यसपछि पौडेल अर्को कार्यक्रमका लागि हिँडे । उनीसँगै टोखा वडा नम्बर ६ को एक क्याफेमा पुग्दा केही युवाहरु उनको प्रतिक्षा गरेर बसेका थिए । त्यहाँ उनले राजनीति विकृत भएको स्वीकारे । ‘अहिले नेताले नमस्ते गर्दा जनताले नमस्ते नर्फकाउने अवस्था छ’, पौडेलले भने, ‘जितेर जानेले मतको महत्व नबुझ्दा यस्तो भएको हो ।’ उनले आफू निर्वाचित हुँदा वा पराजित हुँदा पनि जनतासँगै रहने प्रतिवद्धता जनाए ।
स्थानीय अमर भट्टले सोधे, ‘नेपालमै केही गर्न सकिन्छ कि भनेर आएको हुँ । हामी जस्ता युवाहरु देशमै अडिने वातावरण बनाउन तपाईले के गर्नुहुन्छ ?’
मतदाताले गठबन्धन दलका नेताहरुले दिने विवादित कुराको पनि पौडेलसँग जवाफ मागे । पौडेलले मतदाताका असन्तुष्टिलाई मत्थर पार्न सक्दो प्रयत्न गरे । ‘देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने लक्ष्य छ । एउटा चुनाव जितेर मतदातालाई बेइमानी गरें भने म कसरी त्यो पदमा पुगौंला र ?’ पौडेलले भने ।
निर्वाचन आयोगले ठूला चुनावीसभा तथा घरदैलो अभियान कात्तिक १७ गते पछि मात्रै गर्न पाइने भनेको छ । त्यसैले पौडेलले सानो समूह तथा थोरै व्यक्ति भेट्ने क्रमलाई निरन्तरता दिएका छन् । वडा नम्बर ६ मा आइतबार भएका कार्यक्रममा सीमित मतदाता थिए । निर्वाचन आचारसंहिताले ठूलो संख्यामा भेला गर्न नपाउने भएकाले स–साना भेटघाटलाई महत्व दिएको पौडेलले बताए ।
यति गर्दा विहानको ११ बज्यो । अबको चुनावी भेटघाट वडा नम्बर ५ सानो गौचरण क्षेत्रमा थियो । सानो गौचरण जाँदै गर्दा उनले हामीलाई उम्मेदवार बनेपछि भेटेका केहि प्रतिष्ठित व्यक्तिको नाम र उनीहरुसँगको कुराकानी सुनाए ।
कांग्रेस नेता नरहरि आचार्य, हाँस्य कलाकार हरिवंश आचार्य, विवेकशील साझाका तत्कालीन अध्यक्ष उज्ज्वल थापाको परिवारलाई उनले भेटेका रहेछन् । हास्य कलाकार आचार्यले कुनै उम्मेदवारको पक्षमा नबोले पनि जितको शुभकामना दिएको बताए । ‘तपाईँ जस्तो युवा संसदमा आउनुपर्ने भन्दै शुभकामना दिनुभयो’, पौडेलले भने ।
यस क्षेत्रमा रहेका उच्च पदस्थ व्यक्तिहरुले आफ्नो उम्मेदवारी प्रति खुसी व्यक्त गरेको पौडेलको बुझाइ छ । एमालेका उम्मेदवारप्रति आम नागरिक तथा उच्च पदस्थ व्यक्तिमा वितृष्णा रहेको उनको दाबी थियो । एमाले उम्मेदवार पोखरेलकै कारण आफूमाथि पनि अनेक प्रश्न बर्सिएको उनको बुझाइ रहेछ ।
यसपछि पौडेल सानो गौचरणको मैदानसँगै जोडिएको एउटा घरमा छिरे । जहाँ प्रौढहरु उनलाई कुरेर बसेका थिए । १२/१५ जनाको समूहमा रहेका उनीहरुले पौडेल त्यहाँ पुग्नासाथ कांग्रेसप्रति चर्को असन्तुष्टि पोखे । सहभागी मध्येका एक वृद्धले भने, ‘कांग्रेस बाहेक यो हातले अरु तिर भोट दिन मान्दैन । देउवाले गठबन्धनको जे चुनाव चिह्न छ, त्यसमै भोट दिन भन्नुहुन्छ ।’
अर्का प्रौढ व्यक्तिले कांग्रेसको नीति विचार सिद्धान्त सकिएको हो भनेर प्रश्न गरे । कांग्रेसमा आस्था राख्नेहरुको गुनासो सुनेपछि पौडेल बोल्न थाले । पार्टी भित्रको बेथिति र समग्र राजनीतिलाई सुधार्न आफू लागिरहने वचन दिए ।
यो कार्यक्रम सकिदा घडीमा दिउँसोको १ः३० बज्यो । विहान नास्ता समेत नगरी निस्केको यो प्रचार टोलीले हातमुख जोर्न पाएको छैन । स्थानीय एक कार्यकर्ताले भने, ‘राजनीति गर्न गाह्रै छ, विहानदेखि खाने भनेको मतदाता र कार्यकर्ताको गाली मात्रै हो ।’
निर्धारित कार्यक्रममध्ये अझै आधा बाँकी छ । पौडेल नेता शशांक कोइरालाको निवास महाराजगञ्जतिर लागे, जहाँ यो क्षेत्रको सम्पर्क कार्यालय राखिएको छ । यसपछिको कार्यक्रम कार्यकर्ता भेटघाटमा केन्द्रित थियो ।
काठमाडौं ५ (ख) ले गरेको कार्यक्रममा मतदातालाई विश्वस्त पार्दै पौडेलले भने, ‘तपाईंहरुले खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वासलाई म कुठाराघात गर्ने छैन ।’
प्रतिक्रिया 4