४ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोशी आयोजनाको जलविद्युत् केन्द्र (पावर हाउस) केही दिनका लागि बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न थालेको छ ।
दोलखाको विगु गाउँपालिका-१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको बाँध, बालुवा थिग्य्राउने पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र सबस्टेसनको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।
हिजो रातिदेखि नै आयोजनाको पोखरीको पानी नदीमा छाडिएको छ ।
तामाकोशी हाइड्रोपावर कम्पनीका सीईओ विज्ञान श्रेष्ठका अनुसार तिहार र छठको समयमा मौसमको अनुकुल रहेको र र समग्र बिजुलीको खपत कम हुने भएकोले अहिले निरीक्षण गर्न लागिएको हो । करिब ८ देखि १० दिनभित्र सबै काम सकिने उनले बताए । सुरुङको पानी खाली गर्न र पुनः भर्न दुई-दुई दिन लाग्नेछ ।
‘विदेशी परामर्शदाता लगायत आयोजनामा कार्यरत सबै प्राविधिकहरू चाडबाडको समयमै उत्साहका साथ खटिनुभएको छ, श्रेष्ठले भने ।
१२ असार, २०७८ मा आयोजनाको बाँध, मुख्य सुरुङ र पेनस्टकको ‘वेट टेस्ट’ भएको थियो । १० भदौ २०७८ गतेदेखि प्रारम्भिक रुपमा र २४ भदौ २०७८ देखि सबै ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको व्यापारिक उत्पादन सुरु भएको थियो ।
माथिल्लो तामाकोशीको नियमित कार्यतालिका अनुसार १६ महिनापछि जलाशय र मुख्य सुरुङको पानी खाली गरी ती संरचनाहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको हो ।
प्रतिक्रिया 4