+
+

ओलीलाई विश्वप्रकाशको आग्रह : ५ वर्ष संसद विघटन नगर्ने घोषणापत्रमै लेखौं

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १६:०६

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच भद्रपुर विमानस्थल विमानस्थलमा जम्काभेट भएको छ ।

कांग्रेसले भोलि शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका महामन्त्री शर्मा झापाबाट काठमाडौं आउँदै थिए । एमाले अध्यक्ष ओली भने झापा क्षेत्र नम्बर ३ मा राप्रपासँग मिलेर राखिएको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापा पुगेका थिए ।

विमानस्थलमा भएको भेटका क्रममा ओली र शर्माबीच चुनाव र घोषणपत्रलाई लिएर घोचपेच समेत भएको छ । कांग्रेस महामन्त्री शर्माले झापा–५ मा उम्मेदवारी दिएका ओलीलाई ‘गाह्रो हुँदैछ कि क्या हो ? झापा धाइरहनुभएको छ त’ भनेर सोधेका थिए ।

जवाफमा ओलीले भने झापा १ मा उम्मेदवार रहेका महामन्त्री शर्मालाई ‘ढुक्कै भएर उडेको (काठमाडौं फर्केको) हो’ भनेर प्रतिप्रश्न गरेका थिए ।

कांग्रेस महामन्त्री शर्माले आफू पार्टीको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेको र भोलि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेकाले जान लागेको जवाफ दिए ।

एमाले अध्यक्ष ओलीले यो पटक दुई प्रतिपर्धी पार्टीको घोषणापत्र झापाकै नेताहरुले तयार पार्ने भएछन् भनेर ठट्टा गरेका थिए । एमालेको घोषणापत्र मस्यौदा समितिका संयोजक अध्यक्ष ओली आफैं हुन् ।

शर्माले एमालेले कहिले सार्वजनिक गर्दैछ भनेर सोधेका थिए । ओलीले १५ गते भनेपछि शर्माले हाम्रो भोलि (शनिबार) जारी गरेपछि तपाईहरुलाई केही मिलाउन सजिलो पो हुनेभएछ भन्दै ठट्टा गरेका थिए ।

उनको बोली भुइँमा झर्न नपाई ओलीले खण्डन गरे, हाम्रो प्रेसमा गइसक्यो, नो कपी ।’

ठट्टै ठट्टाका क्रममा दुई नेताबीच संसद विघटनको संकल्पको विषयमा समेत कुराकानी भएको शर्मा निकट एक नेताले अनलाइनखबरलाई बताए

महामन्त्री शर्माले आफ्नो पार्टीले दलभित्र वा दलहरुको द्वन्द्वका कारण विकल्प रहँदासम्म विघटन नगर्ने प्रतिवद्धता घोषणा गर्न लागेको मात्र सुनाएनन्, ५ वर्षका लागि भोट माग्ने भएकाले अरु दलहरुले पनि यसो गरे राम्रो हुने बताएका थिए ।

ओलीले भने आफूहरुको घोषणापत्र छपाईका लागि प्रेसमा गइसकेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?