
१३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब १४ अर्ब रुपैयाँले धेरै हो ।
यस अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने ४१ अर्ब ८२ करोडमा झरेको छ । पहिलो तीन महिनमा आयात १६.२० प्रतिशतले घट्दा निर्यात भने ३५.७१ प्रतिशत र व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ ।
चाडपर्व लक्षित आयात वृद्धिका कारण एक महिनामै कुल वैदेशिक व्यापारको आकार एक खर्ब ४० अर्बले बढेको विभागले जनाएको छ । भदौमा नेपालको कुल वैदेशिक व्यापारको आकार ३ खर्ब २ अर्ब रुपैयाँ थियो । असोजमा यस्तो आकार करिब ४ खर्ब ४३ अर्ब रह्यो । भदौको तुलनामा असोजमा आयात एक खर्ब २७ अर्बले बढ्यो भने निर्यात १३ अर्ब १४ करोडले बढेको हो ।
तीन महिनामा आयात भएका प्रमुख ५ वस्तु
- पेट्रोलियम पदार्थ : ७८ अर्ब २२ करोड ९४ लाख २२ रुपैयाँ
- फलाम तथा स्टील : ३२ अर्ब १० करोड ६० लाख ८१ हजार
- फलफूल तरकारी र खाने तेल : २९ अर्ब ८० करोड ६७ लाख ९६ हजार
- विद्युतीय मेसनरी र पार्ट्स : २६ अर्ब ६४ करोड १५ लाख ३५ हजार
- ठूला मेसनरी आयात : २५ अर्ब २२ करोड २८ लाख ११ हजार
तीन महिनामा निर्यात भएका प्रमुख ५ वस्तु
- कृषि उपज : ११ अर्ब ३८ करोड ३३ लाख २९ हजार रुपैयाँ
- कार्पेट र टेक्सटायल : ३ अर्ब २५ करोड २० लाख ७७ हजार रुपैयाँ
- धागो : अर्ब ७ करोड ७२ लाख १९ हजार रुपैयाँ
- चिया र कफी : २ अर्ब ७६ करोड ७८ लाख ७४ हजार रुपैयाँ
- तयारी कपडा : २ अर्ब २२ करोड ७६ लाख ६० हजार रुपैयाँ
प्रतिक्रिया 4