
१३ कात्तिक, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको बागी उम्मेदवार दिनेश कोइरालालाई नेपाली कांग्रेसका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा र पूर्व सांसद भीमबहादुर श्रेष्ठले साथ दिएका छन् ।
भरतपुर महानगरपालिका–६ चोकबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दिनेशलाई समर्थन रहेको बताए । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले रेनु दाहाललाई उम्मेदवार बनउँदा यो समूहले जगन्नाथ पौडेललाई मेयरको बागी उम्मेदवार उठाएको थियो ।
आफूहरुको मतको प्रतिनिधित्व दिनेशले गरेकोले सर्मथन गरेको कांग्रेसका पूराना दुई नेता सापकोटा र श्रेष्ठले गरे । उनीहरुले यो अभियानमा साथ दिन चितवन ३ बाट नै उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पनि आग्रह गरेका छन् । यसअघि भरतपुर महानगरपालिकाको मेयरको निर्वाचनमा पौडेललाई साथ दिएकी मीना खरेलले पनि कोइरालालाई समर्थन गरेकी छन् ।
योसँगै कोइरालालाई समर्थ गर्न जगन्नाथलाई दबाव बढेको छ । ‘जगन्नाथजीले उम्मेदवारी फिर्ता लिएर दिनेशलाई सर्मथन गर्नुहुन्छ, हामी थाकेका छौं’, पूर्व कांग्रेस पार्टी सभापति सापकोटाले भने, ‘दिनेश र जगन्नाथजीले उठाएका मुद्दा मिलेपछि अलग अलग उम्मेदवार हुन जरुरी छैन ।’
कांग्रेसको प्रतिस्पर्धी दल एमालेलेसमेत दिनेशलाई साथ दिएकोले कांग्रेसले साथ नदिने भन्ने कुरा नहुने नेता सापकोटाको भनाइ छ । पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेसको उम्मेदवारको रुपमा दिनेश खडा भएको दावी गरे ।
स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले आफूले ८० प्रतिशत कांग्रेसको मत पाउने दावी गरे । आफू छँदा खाँदाको केन्द्रीय सदस्य पदसमेत दाउमा राखेर कांग्रेस सुधार्ने अभियानमा हिँडेको उनको दावी छ ।
‘अहिलेको गठबन्धन कुनै राजनीतिक, देशको आर्थिक वा अन्य भौतिक विकासका लागि हुँदै होइन यो त प्रचण्ड र देउवाका आसेपासे र आफन्तलाई राज्यको लाभका पदमा लैजानका लागि मात्रै गरिएको हो’ कोइरालाले टिप्पणी गरे, ‘यो सिण्डिकेटलाई तोडेर चितवनबाट सन्देश दिन आफू उम्मेदवार भएको हुँ ।’
प्रतिक्रिया 4