
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्वदेशी उद्योगको प्रबर्द्धनका लागि नेता, कर्मचारी र सुरक्षाकर्मीलाई स्वदेशी कपडा र वस्तु प्रयोग प्रोत्साहन गरिने नीतिसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ का लागि सो पार्टीले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा यस्तो घोषणा गरिएको हो । घोषणापत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी र शिक्षक तथा विद्यार्थीहरूलाई नेपालमा नै उत्पादित लत्ताकपडा, जुत्ताचप्पल, टोपी, ब्याग लगायतका वस्तुहरू प्रयोग गर्न प्रोत्साहित गर्ने उल्लेख छ ।
‘घरेलु, ग्रामीण, साना तथा मझौला उद्योगहरूको प्रबर्द्धन गर्न—नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी र शिक्षक तथा विद्यार्थीहरूलाई नेपालमा नै उत्पादित लत्ताकपडा, जुत्ताचप्पल, टोपी, ब्याग लगायतका वस्तुहरू प्रयोग गर्न प्रोत्साहित गर्ने,’ घोषणपत्रमा भनिएको छ, ‘जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, समाजिक अभियान्ताहरू, नागरिक समाजका अगुवाहरूले सर्वप्रथम नेपाली वस्तुको प्रयोग गर्ने गरी अभियान सञ्चालन गरिने छ ।’
देशभर एक पालिका, एक उद्योग ग्राम कार्याक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने गरी घरेलु, साना तथा ग्रामीण उद्योगहरू स्थापना गरेर हस्तकलाका वस्तुहरू, नेपाली पहिचान झल्काउने उपहारका सामानहरू, लत्ता–कपडा, फर्निचर, कागज, खेलौना, सामान खेर जाने काठपातलाई प्रयोग गरी ब्रिकेट उत्पादन, मह, वनस्पति घिउ तथा तेल, स्थानीय तथा जङ्गली फलफूलबाट जुस उत्पादन, जडीबुटी उत्पादन, संकलन र प्रशोधनगर्ने लगायतका उद्योगहरू सहकारी तथा निजी स्थापना गर्नका प्रोत्साहन गर्ने पनि उक्त पार्टीको घोषणा पत्रमा भनिएको छ ।
प्रतिक्रिया 4