
१३ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले छुट्टै प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रदेश १ को विकासका मुद्दालाई समेटेर माओवादीले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
आइतबार सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संघीयता कार्यान्वयन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यावसाय विस्तारको विषय प्राथमिकताका साथ समेटिएको छ ।
प्रदेशसभाको प्रत्यक्षतर्फबाट ५६ वटा निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले १९ स्थानमा उम्मेदवार उठाएको छ । माओवादीले ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ मुख्य नारा बनाएको छ ।
माओवादीको प्रतिवद्धता पत्रमा आगामी पाँच वर्षभित्र प्रदेश राजधानीको लागि सबै संरचना निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । प्रदेशलाई बलियो बनाउने र प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षालाई थप मजबुत बनाउने उल्लेख छ । प्रदेशको नाम प्रदेशबासीको भावना र पहिचान झल्कने गरी राख्ने माओवादीको प्रतिवद्धता छ ।
लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएको माओवादी केन्द्रले १४ वटै जिल्लालाई विशेष उत्पादन क्षेत्रमा वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ । कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै निर्यातमा जोड दिने माओवादीको प्रतिवद्धता छ ।
प्रदेशका सबै स्थानीय तहमा प्राविधिक विद्यालयसहित नमुना विद्यालय बनाउने प्रतिवद्धता जनाएको माओवादी केन्द्रले १४ वटै जिल्ला अस्पताललाई विशेषज्ञ चिकित्सकसहित न्युनतम ५० शय्याको बनाउने प्रतिवद्धता जनाएको छ । स्थानीय तहमा निर्माणाधीन ५ देखि १५ शय्याका अस्पताल मार्फत विशेषज्ञ सुविधासहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने माओवादीको प्रतिवद्धता छ ।
प्रदेशको राजधानी विराटनगर केन्द्रित बृहत चक्रपथ निर्माणको योजना अगाडि बढाउने प्रतिवद्धता जनाएको माओवादी केन्द्रले प्रदेशमा निर्माणाधीन सडक, पुल, भवनको निर्माण समयमा सम्पन्न गर्ने, प्रत्येक गाउँपालिकाको केन्द्रसम्म जोड्ने मुख्य सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ ।
तमोर र उपल्लो अरुण जलाशययुक्त आयोजना निर्माण कार्य अगाडि बढाउनपहल गर्ने, प्रदेश सरकारको लगानीर सहकार्य मार्फत मझौला विद्युत आयोजना सञ्चालन गर्ने, सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता पत्रका उल्लेख छ ।
प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएको माओवादी केन्द्रले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्ने प्रतिवद्धता जनाएको छ । एक घर, एक रोजगारी कार्यक्रम सञ्चालन गरी गरिबी निवारण गर्ने,भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रतिवद्धता जनाएको छ ।
हेर्नुहोस् प्रदेश-१ को घोषणा पत्र :
प्रतिक्रिया 4