
मंसिर ४ नजिकिंदै गर्दा निर्वाचनको माहोल जति तातिंदैछ त्यति नै नकारात्मक संकथन (नेगेटिभ न्यारेटिभ)को बाढी आएको छ । ‘नो नट् अगेन’ देखि फलानालाई जसरी पनि हराऔं, मलाई भोट दिए दिनोस्, नदिए नदिनोस् तर फलानोलाई नदिनोस्, फलानो हत्यारा वा भ्रष्टाचारीलाई कुनै हालतमा भोट नदिनोस्, फलानो राष्ट्रघाती वा संसदको हत्यारा वा संविधान विरोधीलाई कुनै हालतमा भोट नदिनोस् भन्ने प्रचार सामाजिक सञ्जालमा बग्रेल्ती देखिन थालेका छन् । हुँदाहुँदा पार्टीहरूको घोषणापत्रमा ‘हामी के गर्दैनौं ?’ भन्ने विषयको लामो सूची नै जारी गरिएको छ ।
निर्वाचनका बखत यस्तो नेगेटिभ न्यारेटिभको बाढी किन आइरहेको छ ? के नेपाल नकारात्मक बिम्वहरूले मात्रै भरिएको छ ? यस्तो किन हुन्छ ? यिनै विषयमा चर्चा गर्ने प्रयास यस आलेखमा गरिएको छ ।
नकारात्मक बिम्व : केही सन्दर्भ
जर्मन राजनीतिक मनोविज्ञानका ज्ञाताहरू कारमेन सारा लिनेन र जे क्रिष्टोफर कोहर्सले सन् २०२१ मा संयुक्त रूपमा गरेको एक अनुसन्धानले राजनीतिमा नकारात्मक भाष्यको विकास किन हुन्छ भन्ने प्रश्नको उत्तर खोजेका छन् । लामो अनुसन्धानपछि उनीहरूको निष्कर्ष छ- ‘विगतलाई स्मरण गर्न, वर्तमानमा आफ्नो पहिचान बनाउन, विगतलाई वर्तमानमा व्याख्या गर्न, नयाँ भूमिकालाई परिभाषित गर्न र आफ्नो नयाँ भूमिकालाई वैधता प्रदान गर्न’ नकारात्मक भाष्यको सहारा लिन्छन् । यसो हुँदाहुँदै पनि नकारात्मक भाष्यले ‘संंकट व्यवस्थापनमा विगतका नकारहरूलाई आजको अवस्थासँग तुलना गर्दै समाधानको खोजीका लागि मार्गप्रशस्त गर्न मद्दतगार हुने’ तथ्यलाई भने उक्त अनुसन्धानले उजागर गरेको छ ।
अर्थशास्त्री थोमस पिकेटीले सन् २०१७ मै प्रकाशन गरेको आफ्नो पुस्तक ‘द क्यापिटल इन द ट्वान्टी फस्ट सेन्चुरी’ मा सम्पत्ति, लोकतन्त्र र पूँजीवादले किन सधैं असमानता सिर्जना गर्छ भन्ने बारेमा आफ्ना सशक्त तर्क राखेर अर्को नकारात्मक भाष्यलाई नै बढावा दिएका छन् । उनी भन्छन्, ‘सामाजिक न्यायको त कुरै छोडौं, धन-दौलत लोकतन्त्रसँग मेल खाँदैन, त्यसैले आजको समाज धन-दौलत थुपार्ने तहमा केन्द्रित हुनेछ । तब त पुँजीवादले स्वतः असमानताको स्तर सिर्जना गर्नेछ जो आफैंमा दिगो हुने छैन ।’
समानताको दुनियाँमा रम्न-रमाउन चाहने मानव जातिका लागि असमानता सिर्जना गर्ने लोकतन्त्र, पूँजीवाद र सम्पत्ति नकारात्मक बिम्व पैदा गर्ने कारकतत्व हुन् भन्ने अवधारणा सत्य हुँदाहुँदै पनि नकारात्मक भाष्यको सहारामा रचना भएको छ भन्न सकिन्छ । यी र यस्तै प्रस्तुतिले पनि कतै नेगेटिभ न्यारेटिभ बढाउन मद्दत त गरेको छैन ? सोच्नुपर्ने भएको छ । प्रस्तुतिको शैली पनि फेर्न जरूरी छ । यो प्रसंग चुनावको रन्कोमा झन् राम्ररी उजागर भएको छ ।
हुनुपर्ने के हो त ?
उपरोक्त पृष्ठभूमि र प्रेरक प्रसंगहरूका आलोकमा नेपालको निर्वाचनका बखत भएका नकारात्मक भाष्यहरूको अधिकतम उपयोग गर्दै सकारात्मकतामा बदल्ने प्रण गर्नु आजको वास्तविकता हो, यो बाहेक अर्को विकल्प देखिंदैन । प्रेरक प्रसंगमा भनिए झैं विगतका नकारात्मक बिम्वहरूको चर्चा नगरी आजको संकटको समाधान गर्न सकिंदैन ।
त्यसैगरी आजको संकट विगतको तुलनामा समाधान गर्नै नसकिने खालको छैन । यसका अतिरिक्त यी सबै संकटको समाधानका लागि नयाँ भूमिका र पात्रको खाँचो छ, त्यो भूमिका खेल्न सक्ने उपयुक्त पात्र मै हुँ भन्ने सन्देश दिनकै लागि नकारात्मक भाष्यको अत्यधिक प्रयोग हुने गरेको छ भन्ने निष्कर्ष निकाल्नु पनि नाजायज हुनेछैन ।
हाम्रो समाज नकारात्मक बिम्वले मात्रै भरिएको छ । यसो हुनाको पछाडि हामीमा नकारात्मक ग्रन्थीको मात्रै कारण हो कि हामीसँग विद्यमान तथ्यहरू नै त्यसखाले छन् भन्ने बारेमा घोत्लिन जरूरी छ । त्यसैले हाम्रो समस्या के हो भन्ने बारेमा चर्चा गर्न जरूरी छ । समस्याको गहिराइ नाप्नुपर्छ । यसरी हेर्दा नेपाली समाजका समस्या निर्वाचनको सामुन्नेमा देखा परेका समस्या निम्नानुसार हुन् भन्न सकिन्छ ।
युवा विरुद्ध वृद्ध नेतृत्व
आजको चुनावी नारा युवा नेतृत्वको खोजीको बनेको छ । अत्यन्त बिकाउको नारा बनेको युवा आवाजले बुढो पुस्तालाई विदा गर्न खोजेको छ । युवा पुस्ताको दावा गर्नेहरूको यो आवाज जबर्जस्त बन्न थालेको छ । भर्खरै बेलायतमा नयाँ प्रधानमन्त्री छानिएका छन् । कुनैबेला उपनिवेश जमाउने मुलुक बेलायतमा त्यतिबेलाको उपनिवेश भारतीय मलको व्यक्ति, अर्कोतिर क्रिश्चियन मुलुक बाइबल छोएर शपथ खानुपर्ने देशमा एक हिन्दु प्रधानमन्त्री, राजनीतिमा लागेको सातै वर्षमा र उमेरका हिसाबले जम्मा ४२ वर्षमा प्रधानमन्त्री बनेको घटना नेपालको निर्वाचनको सम्मुखमा निकै चर्चाको विषय बनेको छ ।
हो, यस प्रसंगमा ‘मिलेनियल एज गु्रप’ आजको समाजमा जबर्जस्त हाबी बनेको छ यो समूह, भ्रष्टाचार विरोधी हुन्छ, यो समूह रोजगारीको खोजीमा हुन्छ । स्वतन्त्रताको पक्षपाती हुन्छ । विज्ञान प्रविधिमैत्री पनि हुन्छ यो समूह अतितमुखी हैन भविष्यमुखी हुन्छ । समतामूलक समाजको पनि पक्षपाती हुन्छ । यसले आफ्नै वर्ष समूहको मानिस शासन गर्ने ठाउँमा उपस्थित भएको हेर्न र देख्न चाहन्छ ।
यो समूह लगभग आन्दोलन, क्रान्ति, युद्ध र विद्रोहभन्दा टाढा छ । व्यवस्था परिवर्तनका सबै अभियान समाप्त भएपछि हुर्के-बढेको पुस्ता आजको समाजमा हावी छ । यस्तो वर्ष समूहको स्वाभाविक चासो भविष्यमुखी हुन्छ । आजको विज्ञान र प्रविधिले उपलब्ध सबै सुविधा निर्वाध रूपमा उपभोग गर्न पाइयोस् भन्ने चाहना राख्दछ ।
यसको ठीक विपरित हामीसँग सात दशक वरपरका नेताहरूको पंक्ति छ जसले आन्दोलन, क्रान्ति र संघर्षमा आफ्नो सम्पूर्ण जीवन बिताएको छ । उसँग विगतको अन्याय, अत्याचार यातना र प्रताडनाको ताजा तस्बिर छ, ताजा अनुभव छ । यो नै बुढो पुस्ताको पूँजी हो । त्यही कुरा बिक्री गरेर निर्वाचनमा आफ्नो औचित्य पुष्टि गर्न चाहन्छ । भविष्यमुखी मतदाता अतितमुखी नेतृत्व आजको यथार्थ हो । त्यसैले नकारात्मक भाष्यको विकास भएको छ ।
पारदर्शिता विरुद्ध अपारदर्शी कार्यशैली
नेपाली राजनीतिमा त्यसमा पनि निर्वाचनका बखत नकारात्मक भाष्य सिर्जना हुनाको अर्को कारण भनेको पारदर्शिताको समस्या हो । लोकतन्त्र पारदर्शी हुन्छ भनिन्छ । आजको युवा पुस्ता पारदर्शिताको हिमायती पनि हो । तर हामीकहाँ शासन सत्तामा रहेको पुस्ताले पारदर्शिताको अभ्यास गर्न पाएको पनि छैन रुचाउन पनि रुचाउँदैन ।
पार्टीमाथिको प्रतिबन्धका कारणले भूमिगत कार्यशैलीमा हुर्केको र अभ्यस्त भएको आदत आज पनि त्यसैको निरन्तरतामा रमाउन खोज्दछ । यो अन्तरविरोधका बीचमा निर्वाचनका बखत आयोजना गरिएका बैठक र निर्णयहरू प्रश्नको घेरामा छन् । पार्टीका अधिवेशन र तिनमा छानिएको नेतृत्व लोकतन्त्रको कसीमा जाँच्दा सही ठहरिन सक्दैन । पारदर्शिताको नामोनिशान पनि भेटिन्न । यसैगरी उम्मेदवार छनोटको प्रक्रिया महिनौंको रस्साकस्सी, भागबण्डाको प्रभाव र मनोमानी टिकट वितरण समेतले युवा पुस्तामा नकारात्मक बिम्वको कारण बनेको छ । पारदर्शी बन्दा नेतृत्वले चाहेजस्तो निर्णय हुन नसक्ने, अपारदर्शी बन्दा लोकतन्त्र अनुकूल पनि नहुने साथसाथै सो निर्णयको परिपालना कडाइका साथ नहुने र पार्टी पंक्तिभित्रैबाट अवज्ञाको खतरा पैदा हुने यस्ता समस्याले पनि नकारात्मक भाष्यको विकास भएको छ ।
अबको बाटो
नेपाली लोकतन्त्रको इतिहास लामो छैन । राणा, राजाको शासन त्यसमा पनि ज्ञानेन्द्रको शासनले नेपालको लोकतन्त्रको धज्जी उडाएको छँदैथियो । त्यही प्रवृत्तिसँग लडेर आफूलाई स्थापित गरेको राजनीतिक पुस्ता तिनैको विरासतको प्रभावले ग्रस्त छ । व्यवस्था बदल्न त्यो पुस्ताले गरेको त्याग र बलिदानको जति प्रशंसा गरे पनि पुग्दैन तर त्यसकै बलमा नकारात्मक भाष्य बन्ने गरी समाजमा हावी हुन पनि समयले दिएको छैन । समय अन्तरविरोधको भुमरीमा छ ।
जेहोस्, लोकतन्त्रमा दलको विकल्प छैन । केही स्वतन्त्रहरूको उदयका आफ्नै कारण होलान् तर स्वतन्त्रले खबरदारी गर्ला शासन संचालन गर्दैन । राजनैतिक दलको विकल्प छैन भने तिनको नेतृत्वको पनि विकल्प छैन । राजनैतिक नेतृत्वको विकल्प पनि राजनैतिक नेतृत्व नै हो । राजनैतिक नेतृत्व बाहेकको विकल्पबाट मुलुकको नेतृत्वको अपेक्षा गर्ने कुरा फगत कल्पना बाहेक केही हुने छैन । त्यसैले राजनैतिक दल र नेतृत्वले पहिला आफैंलाई बदल्नुपर्छ । मिलेनियल एज ग्रुपको चाहनाको जानकारी लिने र तिनको चाहनाको परिपूर्ति गर्नेतर्फ आफूलाई केन्द्रित गर्ने यसो गर्दा मात्रै समाज र देशले सही नेतृत्व प्राप्त गर्नेछ ।
राजनैतिक दल र नेतृत्वलाई सराप्ने मात्रै विकल्प हैन
जोबाट बढी आशा गरिन्छ उसैलाई आलोचना पनि गरिन्छ । जसलाई माया गरिन्छ उसैको बदख्वाईं पनि गरिन्छ । जसलाई आलोचना गर्नुको अर्थ उसलाई सच्याउनका लागि हो भन्ने पनि बुझ्न जरूरी छ । यसलाई रचनात्मक आलोचनाका रूपमा लिन सकिन्छ । तर केही ध्वंसात्मक आलोचनाका संकेतहरू पनि देखिन थालेका छन् तिनीहरूबाट देश, जनता, नेता र दलहरूलाई जोगाउन सकिएन भने आजसम्म प्राप्त गरेको लोकतन्त्र पनि धरापमा पर्ने खतरा नहोला भन्न सकिन्न ।
रचनात्मक आलोचना आजको आवश्यकता हो ध्वंसात्मक आलोचनालाई पहिचान र परास्त गर्ने भाष्य निर्माण आजको खाँचो हो । यसो गर्नका लागि कोही पनि पूर्ण हुँदैन, नेताहरू मात्रै हैन हामी सबैले गल्ती गर्छौं फेरि सो गल्तीबाट बच्न पनि खोज्छौं, यो मानवीय स्वभाव हो । नेता र कार्यकर्ता वा जनतामा समान रूपमा लागू हुन्छ ।
फरक यत्ति हो नेताको गल्तीले देश डुब्न सक्छ । त्यसैले आलोचना पनि त्यही स्तरको हुन्छ तर व्यक्तिको गल्तीले व्यक्ति डुब्न सक्छ, त्यसैले आलोचना प्रायः हुँदैन । भए पनि सरोकारवालाले मात्रै गर्छन्, त्यसको प्रचार हुँदैन । यो कुराले के वास्तविकतालाई झल्काउँछ भने जीवन सधैं योजना अनुसार मात्रै चल्दैन र गल्तीहरू जीवनको अभिन्न, अपरिहार्य र स्वाभाविक अंग हुन् । धेरैपटक हामी आफैं पनि अरूका विरुद्धमा गल्ती गरिराखेका हुन्छौं ।
समयले निरन्तर हाम्रा कमजोरीहरूलाई सम्झाइरहन्छ । हामी भन्छौं- यसो हुन्छ भन्ने थाहा पाएको भए त्यसो गरिने थिएन । यसै भनेर हामी चित्त बुझाउँछौं । कुरा यति हो गल्तीहरूले कहिलेकाहीं अपूर्व अवसरहरू गुमाउन मद्दतगार भैदिन्छन् । त्यो भने अपूरणीय क्षति हुन्छ ।
त्यसैले राजनीतिक दल र तिनका नेताहरूलाई एकोहोरो गाली गरेर वा आलोचना गरेर जनतामा थप नकारात्मक भाष्य सिर्जना गर्नमा योगदान गर्ने कि विगतमा दल र तिनका नेताका गल्तीका कारणले समाजले भोग्नुपरेको समस्याको सही पहिचान गरेर तिनको समाधानमा योगदान दिने आजको पुस्ताको छनोट यसैमा छ ।
विगतमा गरेको योगदानको कदर गर्ने त्यसप्रति नतमस्तक पनि हुने अघिल्लो पुस्ताप्रति कृतज्ञ हुँदै भावी पुस्ताको योजना बनाउनेतिर नलाग्ने हो भने विगतको पुस्तालाई गाली गर्नेले भोलिको पुस्ताको गाली खान पनि तयारै हुनुपर्छ । त्यसैले गाली संस्कृतिको विस्थापन र नकारात्मक भाष्यको बिदाइ नै आजको आवश्यकता हो । यही नै आजको राजनीतिको मूल एजेण्डा पनि हो । एउटा बिर्सनै नहुने तथ्य के हो भने नकारात्मक भाष्य वा आलोचनाको स्रोत हेरिन्छ, उसको नियत हेरिन्छ, उसको विश्वसनीयता हेरिन्छ, समय परिस्थिति हेरिन्छ अनि मात्रै कसैको आलोचना वा नकारात्मक भाष्यलाई ग्रहण गरिन्छ ।
समय सीमित छ, त्यो सीमित समयमा तपाईं जो-कोही हुनुहुन्छ, आफ्नै कुरा पो भन्ने हो कि ? आफ्नो कुरा छैन भने त अरूको आलोचना गरेर भए पनि समय त उपभोग गर्नै पर्यो ! आजका श्रोताहरू चलाख र विवेकी छन् । वक्ताले आलोचना मात्रै गर्यो भने ‘यसको आफ्नो कुरा केही भए पो भन्थ्यो, अरूको आलोचनामा समय खेर फाल्दैछ’ भन्दिन बेर लाग्दैन । त्यसैले विरोधीलाई आलोचना गर्नु उसको स्वधर्म मानिएला तर पत्याउनेले कति पत्याउला भन्ने पनि ख्याल गरौं । कसैले पत्याइदिएन भने विरोधीलाई गरिएको आलोचना त उल्टो अरूको विज्ञापन, आफ्नो बदनाम पो भइदिन्छ । नेगेटिभ न्यारेटिभमा रमाउनेहरू सबैले यसतर्फ पनि ध्यान दिने कि ?
प्रतिक्रिया 4