
१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले सन् २०१६ मा गठित ईपीजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताएका छन् ।
बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताए ।
उनले भने, ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ । यद्यपि यो प्रतिवेदन थियो । उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपर्थ्यो प्रतिवेदन बुझेर त्यो काम भारतिय पक्षबाट भएको छैन ।’
उनले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कूटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताए।
‘हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कूटनीतिक माध्यमबाट यी विषयहरु उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ । र नेपालको तर्फबाट हामी त्यो भूमिका खेल्नेछौँ ।’ उनले भने ।
प्रतिक्रिया 4