
काठमाडौं । कपाल झर्नुलाई बुढ्यौलीको संकेत मानिन्छ । जब उमेर ढल्किंदै जान्छ, टाउकोमा कपाल पनि पातलिंदै जान्छ । तर अहिले युवावस्थामै कपाल झर्ने, फुल्ने, हाँगा पलाउने र टुक्रिने समस्या बढ्दो छ । खानपान, हावापानी र औषधिको असर कपालमा देखिंदैछ ।
साथै अहिले मोटरसाइकल–स्कुटर चलाउन हेल्मेट लगाउने प्रवृत्तिले कपाल झर्ने समस्या ह्वात्तै बढेको छ । त्यस्तै केमिकलयुक्त स्याम्पु, साबुन, तेल, जेलले कपालमा असर गरिरहेको छ । हेयर ट्रिटमेन्ट र प्रोडक्टको बजार फैलिनुमा यो एउटा कारण हो ।
छाला तथा यौनरोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण सर्जन डा. रुपक घिमिरेका अनुसार अहिले किशोरवयमै कपाल झर्ने समस्या देखिंदैछ । ‘कपाल झर्ने समस्या बढीजसो पुरुषमा छ,’ डा. घिमिरे भन्छन्, ‘तर महिलाहरु पनि कपाल झर्ने समस्याबाट मुक्त छैनन् ।’
हर्मोनको गडबड, खराब खानपान, डाइटिङ, भिटामिन डीको कमी, तनाव, रोग आदिले महिलामा कपाल झर्ने समस्या देखिएको छ । पुरुषमा भने तनाव, जीवनशैली, उचित स्याहार नपुग्दा वंशाणुगत जस्ता समस्याले कपाल झर्ने गरेको छ ।
जसकारण कपालका स्याहारसुसारका लागि खर्चको आकार बढेर गएको छ । कपाल काट्न, मसाज, कलर, केराटिन, ट्रिटमेन्ट गर्न मन खोलेर खर्च गर्नुपर्ने हुन्छ । त्यसबाहेक कपाल प्रत्यारोपण, प्लेटेट रिच प्लाज्मालगायतको खर्च थामिनसक्नु छ ।
कपालको स्याहारसुसारमा खर्च
कपाल मान्छेको व्यक्तित्वकै हिस्सा भएकाले यसको स्याहारसुसार अनिवार्य बन्दै गएको बताउँछिन् सौन्दर्यविद् लक्ष्मी महत । ‘सौन्दर्यका लागि अनुहारमा भन्दा कपालमा बढी खर्च गर्नुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘नियमित स्याहार गर्नुपर्ने कारण मात्र होइन, यसका लागि आवश्यक सौन्दर्य प्रसाधन पनि महंगो हुने गर्छ ।’
कपाल झर्दै गएपछि प्रत्यारोपण गर्नुपर्ने वा पातलिंदै गएपछि ‘प्लेटेट रिच प्लाज्मा’ गर्नुपर्ने हुन्छ, जसको खर्च निकै धेरै हुन्छ । त्यसबाहेक हेयर ट्रिटमेन्ट, केराटिन, मसाज, हेयर कट, कलरिङ जस्ता कुराले कपालको खर्च बढाइदिएको छ ।
हेयर ट्रिटमेन्ट
कपाललाई बलियो, बाक्लो, मुलायम बनाइराख्न धेरैले हेयर ट्रिटमेन्ट गराउने गरेका छन् । यसले कपाल झर्ने, रुखो हुने, हाँगा फाट्नेजस्ता समस्या हुन नदिने सौन्दर्यविद् महत बताउँछिन् ।
ट्रिटमेन्ट खर्च
कपालको अवस्था हेरेर यसको खर्च निर्धारण गर्न सकिन्छ । सामान्यतः हेयर ट्रिटमेन्टका लागि ५०० रुपैयाँदेखि १५ सय रुपैयाँसम्म लाग्नसक्छ । कपाल धेरै बिग्रिएको छ भने एक सातामा र कपालको अवस्था ठीक छ भने १५ दिनमा एक पटक हेयर ट्रिटमेन्ट गराउनुपर्ने उनको सझुाव छ ।
कपाल काट्ने
पुरुषको लागि त कपाल काट्नु अनिवार्य हो । निश्चित अवधिपछि कपाल काँटछाँट गर्नैपर्ने हुन्छ । महिलाले पनि कपाललाई बेलामौकामा काट्ने गरेका छन् । कपाललाई नयाँ सज्जामा ढाल्न वा आकर्षक बनाउन कपाल काट्ने क्रम बढेको छ ।
खर्च
कपाल काट्न पुरुष र महिलाका लागि छुटाछुटै खर्च लाग्छ । सामान्यतः कपाल काट्न १५० रुपैयाँदेखि १६ सय रुपैयाँसम्म लाग्छ ।
कपाल मसाज
कपाललाई जरैदेखि बलियो बनाउन, स्वस्थ राख्न, मुलायम बनाइराख्न मसाल गर्नुपर्ने हुन्छ । यसका लागि विभिन्न किसिमको हेयर आयल प्रयोग गरिन्छ ।
खर्च
कपालमा मसाज गरेको कम्तीमा एक हजार रुपैयाँ लाग्छ । नरिवल तेलले कपाल मसाज गरेको १३ सय रुपैयाँसम्म लाग्छ भने जैतुनको तेलले मसाज गरेको १६ सय रुपैयाँको हाराहारीमा लाग्छ ।
केराटिन ट्रिटमेन्ट
कपाललाई अतिरिक्त प्रोटिन र भिटामिनको जरुरत हुन्छ, जसको लागि केराटिन गरिन्छ । केराटिनले कपाललाई प्राकृतिक रुपमै बलियो र स्वस्थ राख्न सहयोग गर्छ ।
खर्च
केराटिन गर्नका लागि कम्तीमा पाँच हजार रुपैयाँ लाग्छ । सामान्यतः ९ हजारदेखि १५ हजार रुपैयाँको हाराहारीमा केराटिनका लागि खर्च गर्नुपर्ने हुन्छ ।
कपाल रंगाउने
कपाल रंगाउनु भने अनिवार्य छैन । मान्छेले आफ्नो शैली बदल्न चाहेमा कलर गर्छन् । कलर गरेपछि कपालको हेरचाह अरु बढी गर्नुपर्ने हुन्छ । कपाल फुलेकाहरुले पनि कलर गर्ने गर्छन् ।
खर्च
कपाल रंगाउनका लागि पनि निकै खर्च लाग्छ । यसका लागि कम्तीमा २५ सय रुपैयाँ लाग्छ । रंगको अनुसार र पार्लर अनुसार पनि यसको खर्चमा विविधता हुन्छ । कतिपय ठाउँमा कपाल रंगाउनका लागि मात्र ६ हजार रुपैयाँसम्म खर्च लाग्छ ।
कपाल प्रत्यारोपण
कपाल झर्दै गएपछि वा कुनै कारणवस कपाल नभएपछि पुनः प्रत्यारोपण गर्ने विधि प्रचलनमा छ । कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडिको भागको कपाललाई निकालेर झरेको ठाउँमा रोप्ने गरिन्छ । कपाल रोप्दा प्रतिगोटाको हिसाबले पैसा लिने गरिन्छ ।
खर्च
कपाल रोप्नका लागि कपाल कति झरेको छ भन्ने कुराले खर्च निर्धारण गर्छ । सामान्यतः कपाल प्रत्यारोपणका लागि कम्तीमा ६० हजार रुपैयाँ लाग्छ । त्यसबाहेक कपाल झरेको भाग हेरेर औसत ४ लाख रुपैयाँ खर्च हुन्छ ।
प्लेटेट रिच प्लाज्मा (पीआरपी) इन्जेक्सन विधि
कतिपय अवस्थामा सही ढंगले रक्तप्रवाह नहुँदा पनि कपाल झर्ने समस्या हुन्छ । यस्तो अवस्थामा प्लेटेट रिच प्लाज्मा थेरापी गर्न सकिन्छ । यो विधिमा मान्छेको शरीरबाट रगत निकालिन्छ । त्यसमा भएको रातो रक्तकोषिका र सेतो रक्तकोषिका छुट्याएर तालुको भागमा हाल्ने गरिन्छ ।
खर्च
पीआरपी उपचारका लागि प्रत्येक चरणमा कम्तीमा चार हजार रुपैयाँ लाग्छ । यो कति पटक गर्ने भन्ने कुरा कपालको स्थिति हेरेर निर्धारण गर्न सकिन्छ ।
प्रतिक्रिया 4