
३३ वर्षीय मिलन पाण्डे पेशाले सिभिल इन्जिनियर हुन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मै जन्मिए, बढे, पढे । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली अभियानमार्फत २०७० सालबाट राजनीतिमा आए । २०७६ मा विवेकशील नेपालीको अध्यक्ष र २०७७ मा साझा पार्टीसँग एकतापछि बनेको विवेकशील साझा पार्टीका संयोजक बने ।
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकतापछि भने निकै उतारचढाव व्यहोरे पाण्डेले । वैकल्पिक राजनीतिप्रति आशावादी बनेर यो अभियानमा लागेका उनी मात्र नभई समर्थक र शुभचिन्तकलाई पनि विवेकशील साझा पार्टीको अवस्थाले निराश बनायो ।
एक दशकयता राजनीतिक–सामाजिक मामिलामा सक्रिय पाण्डेको लागि चुनाव लड्ने पार्टी समेत भएन । विवेकशील अभियानलाई पुनः अगाडि बढाउने बताउँदै आएका उनले निर्वाचन आयोगमा हतारहतार ‘साझा पार्टी’ दर्ता गरेर काठमाडौं–९ बाट संघीय सांसदमा उम्मेदवारी दिएका छन् ।
नेपालको सार्वजनिक शिक्षा सुधारमा निरन्तर कलम चलाउँदै आएका उनी अध्यापनमा पनि संलग्न छन् । नेपाल खुल्ला छ, संविधान कहिले ?, डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधार अभियान, न्यायपालिका सुधार अभियान, इनफ इज इफ अभियान, महाभूकम्पपछिको राहत–उद्धार, सफा वागमती लगायत अभियानमा सक्रिय भएका पाण्डेले चुनाव चिह्नमा पाइतालाको नक्सा पाएका छन् ।
नयाँ पुस्ताका मतदाताबीच चिरपरिचित उनले स्पष्ट घोषणापत्र पनि सार्वजनिक गरेका छन् । समग्र चुनावी माहोल हेर्दा भने उनी प्रतिकूलताको पहाड अगाडि उभिएका देखिन्छन् ।
२०७४ को आम निर्वाचनमा पनि पाण्डे यही क्षेत्रबाट उम्मेदवार थिए, जसमा उनी ४ हजार ९४६ मतसहित तेस्रो स्थानमा आए । त्यो बेला २२ हजार ८५२ मतसहित विजयी नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ अहिले यही क्षेत्रमा उठेका छन् । १४ हजार ८०२ मत पाएका नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित भने यो पटक चुनावी मैदानमा छैनन् । नेकपा (माओवादी केन्द्र)की नेता तथा पूर्वमन्त्री कल्पना धमला सत्ता गठबन्धनको साझा उम्मेदवार छिन् ।
गत वैशाखको स्थानीय तह चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका स्वतन्त्र उम्मेदवारहरूले कुल ४६५ मत ल्याएका छन् । त्यसमा विवेकशील साझा पार्टीको हिस्सा १५१ छ । उक्त निर्वाचनमा कांग्रेसले १९ हजार ९१६, एमालेले १९ हजार २८२, राप्रपाले २ हजार ४०१, नेमकिपाले ७१६ र माओवादी केन्द्रले ६९५ मत पाएका छन् । राप्रपाले यसपटक देवेन्द्र प्रधानलाई उठाएको छ ।
यो निर्वाचन क्षेत्रमा डा. ज्ञान बस्नेत, सुनिल रिमाललगायत १० जना स्वतन्त्र उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।
यस्तो प्रतिकूल अवस्थामा एकातिर दलहरूको मिलेमतो तोड्दै उनीहरूको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।
प्रतिक्रिया 4