२० कात्तिक, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नवीन तण्डुकारले नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसीपमा एकल अग्रता कायम गरेका छन् ।
पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको च्याम्पियनशीपको दोश्रो दिन आइतबार तेस्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भए ।
शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा रुपन्देहीका विजय गुरुङलाई पराजित गरे । पाचौं चरणको समाप्तिमा तण्डुकार ५ अंकका साथ शिर्षस्थानमा रहेका छन् ।
दुई खेलमा बराबरीमा रोकिए पश्चात पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । पाचौं चरणमा काठमाडौका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल भएका बद्रीलाल तेश्रो चरणमा कास्कीका रामबहादुर क्षत्रीसँग तथा चौथो चरणमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अंक बाड्न पुगे ।
पाचौं चरण पश्चात बद्रीलाल तथा विजय गुरुङको समान चारचार अंक भएको छ । विजयले तेश्रो चरणको खेलमा काठमाडौका जर्नादन श्रेष्ठ तथा पाचौं चरणमा बाँकेका तीर्थ बहादुर विकलाई हराए ।
फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जर्नादन श्रेष्ठ, रामबहादुर क्षत्री तथा भरत धिमालले समान ३ दशमलब ५ अंक बनाएका छन् । त्यसैगरी तिर्थबहादुर विक, बलराम नापित, लवकुमार श्रेष्ठ तथा सिताराम अग्रवाल समान तीनतीन अंकमा रहेका छन् ।
स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी च्याम्पियनशीप अन्र्तगत सोमबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन गरिनेछ ।
सोमबार बिहान आठ बजे सुरु हुने छैठौं चरणको पहिलो बोर्डमा नविन तण्डुकार र बद्रीलाल नेपालीको भिडन्त हुनेछ । त्यसैगरी दोश्रो बोर्डमा च्याम्पियनशीपका शिर्ष खेलाडी विलमलाले विजय गुरुङसँग प्रतिष्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4