
२२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस घोषणापत्र मस्यौदा समिति संयोजक स्वर्णिम वाग्लेलाई चुनावको उम्मेदवार बनाउनेबारे छलफल भएको पुष्टि गरेका छन् ।
यसअघि अर्थविद् वाग्लेले एउटा कार्यक्रममा आफूलाई ओलीबाट उम्मेदवार बन्न प्रस्ताव आएको खुलाएका थिए ।
अनलाइनखबरसँग लामो अन्तर्वार्ताको क्रममा ओलीले वाग्लेसँग काठमाडौंको कुनै क्षेत्रबाट लड्नेबारे छलफल भएको संकेतमा बताएका छन् ।
‘स्वर्णिमजीसँग मेरो कुरा भएको थियो,’ ओलीले भने, ‘म यसबारे अहिले तपसिलमा जान चाहन्नँ ।’
हामीले सोध्यौं, ‘तपाईंले वाग्लेलाई फोन गर्नुभएको थियो ?’
‘मैले बोलाएको थिएँ । कुरा गरेको थिएँ ।’
‘बालकोटमै कुरा भयो ?’ हाम्रो अर्को प्रश्न थियो ।
‘अँ’, मुन्टो हल्लाएर ओली रोकिए ।
‘वाग्लेले केही कुरा देखाएर अप्ठेरो जनाउनुभयो ?’ हामीले थप जान्न चाह्यौं ।
‘के कुरा भयो भन्नेबारे म अहिले केही भन्दिनँ । मैले के भनें, उहाँले के भन्नुभयो भन्ने डिटेलमा जाँदा अर्कै अर्थ लाग्छ । अंश उद्धरण गर्दाजस्तो डिटेलमा जाँदा हुँदैन’, ओलीले भने ।
प्रतिक्रिया 4