
काठमाडौं । अभिनेता आर्यन सिग्देललाई दर्शकले अब ‘डिसेम्बर फल्स’ फिल्ममा हेर्न पाउनेछन् । उनको स्क्रिन कपलको भूमिकामा आउँदैछिन् उपासना सिंह ठकुरी ।
‘दुई नम्बरी’ र ‘कबड्डी ३’जस्ता हिट फिल्मपछि उपासना यो लभस्टोरी फिल्ममा देखिनेछिन् । अहिले छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’को गीतको छायांकन यसै सप्ताहन्तमा भक्तपुर दरबार क्षेत्रमा भएको छ ।
त्यहाँबाट सार्वजनिक भएका ताजा तस्वीरमा आर्यन र उपासनालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । ‘चार घण्टा कुरेको’ बोलको गीतमा यो स्क्रिन–कपलले माया साटेका छन् । भक्तपुर दरबार स्क्वायरमा सेट निर्माण गरी चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामिछानेले रोमान्टिक मुडमा नचाएका थिए ।
दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका छन् । प्रवीण ओझाको निर्देशन र महेश गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।
रिजालले यसअघि ‘वान डे’, ‘कसम’, धुँवा यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौं फिल्म हो । दुई साताअघि सार्वजनिक फस्टलुक पोस्टरले चर्चा पाइरहेको फिल्मको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।
आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
फिल्म पुस १५ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4