
काठमाडौं । के दक्षिण कोरियाली पप ब्याण्ड बीटीएसले फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा हुने सांगीतिक प्रस्तुतिमा शकिरासँग स्टेज सेयर गर्नेछ ?
दक्षिण कोरियाली सञ्चारमाध्यमले बीटीएस र ब्ल्याक आइड पिज ब्याण्डले पनि ओपनिङ समारोहमा भाग लिने उल्लेख गरेका छन् । तर यसबारे फिफाले आधिकारिक रुपमा केही बताएको छैन ।
दक्षिण कोरिया सरकारले केही विशेष कार्यक्रममा प्रस्तुति दिन सक्ने लचिलो सर्तसहित बीटीएसलाई सैन्य सेवामा सक्रिय हुन अनुमति दिएको छ । सोही नियमानुसार बीटीएस कतार विश्वकपमा पुग्ने समाचार कोरियाली मिडियाले लेखिरहेका छन् ।
यदि यी विवरण सत्य हुन् भने बीटीएस र ब्ल्याक आइड पिजजस्ता विश्वचर्चित सांगीतिक समूहले शकिरासँग मञ्च सेयर गर्नेछन् । बीटीएस हुन्डाई मोटर्सको एक गीतमा देखिएयता हलिउडमा पनि यो खबर ट्रेन्डिङ भइरहेको छ ।
केही दिनअघि बीटीएसका एक गायक जङकुक फिफाको एक प्रवर्द्धन भिडियो छायांकनका लागि कतार पुगेका छन् । उनको उक्त भिडियो र तस्वीर यतिबेला भाइरल बनिरहेको छ । जङ्कुकले कतारी सेनालाई अभिवादन गरेको दृश्य देखिएको छ ।
२० नोभेम्बरमा हुने उद्घाटन समारोहमा बीटीएसका अन्य सदस्यहरु उपस्थित हुनेछन् वा छैनन् त्यो पछि नै थाहा होला । तर के कुरा पक्का हो भने फिफा विश्वकपसँग बीटीएसको सहकार्य चाहिं हुनेछ ।
प्रतिक्रिया 4