
२३ कात्तिक, उदयपुर । उदयपुरको क्षेत्र नम्बर २ मा पर्ने कटारी नगरपालिका ३ राजावसस्थित सिद्धिचरण राजमार्गसँगै सशस्त्र प्रहरी बलको बेसक्याम्प छ ।
बेसक्याम्पको मूल गेट भन्दा सय मिटर तलको सडकका दुवै तर्फ रोपिएको विरुवा सुरक्षित गर्न बाँसका टोकरी राखिएको छ । ती टोकरी अहिले दलको झण्डाले ढाकिएका छन् ।
त्यतिमात्र होइन, विजुलीका पोल, ढुंगा, मुढा, रुख, वुट्यान अहिले पार्टीका झण्डा र पर्चाले भरिएका छन् । कटारी बजार प्रवेश गर्ने सडकको दायाँबाँया तुल र ब्यानर टाँगिएको छ ।
उदयपुर-१ मा पर्ने बेल्टारमा पनि प्रहरी कार्यालय अगाडिकै बिजुलीका पोलमा पार्टीका पोस्टर टाँसिएका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र कटारी बजारमा दलहरुले सम्पर्क कार्यालय राखेका छन् । दलका उम्मेदवारले आचारसंहितामा तोकिएका भन्दा बढी सवारीसाधन प्रयोग गरी ठूला आवाजमा पार्टीका गीतहरु बजाएर गाउँ शहर घन्काएका छन् ।
जिल्लामा आचारसंहिता विपरीतका क्रियाकलाप गरिएको पाइएपछि निर्वाचन आयोग जिल्ला आचारसंहिता अनुगमन समिति उदयपुरले मंगलबार सुचना नै प्रकाशन गरेर आचारसंहिता उल्लघंन नगर्न आग्रह गरेको छ । तर यसलाई कसैले टेरेको छैन ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत महेश कुमार दाहाल हस्ताक्षरित निर्देशनमा जिल्लाको क्षेत्र नम्बर २ को नेपालटार, कटारी, बेतसोत, कालीखोला, गराँस लगायतका स्थान क्षेत्र नम्बर १ को रामपुर, बेल्टार लगायत मदन भण्डारी राजमार्गमा आयोगले तोकेको भन्दा बढी झण्डा, व्यानर, पर्चा राखिएको उल्लेख गरेको छ ।
‘विद्यालय लगायत सार्वजनिक क्षेत्रमा निर्वाचन प्रतिकुल भित्तेलेखन बजार क्षेत्रमा ठूलो आवाजामा माईकहरु बजाएर प्रचार प्रसार गरिएको उजुरी प्राप्त भएको छ’, निर्देशनमा भनिएको छ, ‘निर्वाचन लक्षित झण्डा, लोगो, स्टिकर, क्याप, भेष्ट, व्याज, मास्क, गम्छा लगाएको देखिएको छ ।’
जिल्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचारसंहिता २०७९ लागुगरेपनि दलहरुले कार्यान्वयन गरेका छैनन् । समितिले अस्वाभाविक प्रचार सामग्री सुरक्षकर्मीहरुबाट हटाइएको र केही क्षेत्रमा सम्बन्धित दलका कार्यकर्ता र उम्मेदवार स्वयंलाई हटाउन अनुरोध गरेको भएपनि दलहरुले पालना गरेका छैनन् ।
प्रतिक्रिया 4