
२४ कात्तिक, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्य मोरङ-४ को चुनावी अभियानमा सहभागी भएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षामा रहे पनि आचार्यले टिकट पाएनन् । तर बिहीबार उनी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदीका लागि मत माग्न हिँडेका हुन् ।
२०७४ सालको निर्वाचनमा आचार्यलाई मोदीले नै पराजित गरेका थिए । सत्तारुढ गठबन्धनभित्र क्षेत्र नम्बर ४ मा मोदी र आचार्य टिकटको प्रमुख दाबेदार थिए । टिकटमा मोदीले बाजी मारेपछि आचार्य निष्क्रिय थिए । बिहीबार नै आचार्यलाई भेट्न मोदी उनको निवास पुगेका थिए । त्यसपछि दुवै नेता चुनावी अभियानमा निस्किएका हुन् ।
बिहीबार दिउँसो विराटनगर महानगरपालिका-८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि पटक पटक प्रहार गरेको उनको भनाइ छ ।
मोरङ-४ मा एमालेबाट प्रतिनिधिसभामा विनोद ढकाल उम्मेदवार छन् । ढकालले पनि चुनावी घरदैलो अभियान तिब्र बनाएका छन् । एमालेबाट प्रदेशसभा क मा जयप्रकाश चौधरी र प्रदेशसभा ख मा जीवन आचार्य उम्मेदवार छन् ।
प्रतिक्रिया 4