२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता रानामगर फ्रेन्चाइज क्रिकेट प्रतियोगिता फेयरब्रेकको नयाँ सिजनका लागि अनुबन्धित भएकी छन् ।
उनका म्यानेजर दीपेश पण्डितले दोस्रो सिजनको प्रतियोगितामा पनि सीताले खेल्ने निश्चित भएको जानकारी दिए । तर, उनले कुन टिमबाट खेल्ने निश्चित भइसकेको छैन । पण्डितका अनुसार सीताले सम्भवत: पुरानै टिम द टोर्नाडोजबाट खेल्नेछिन् ।
२०२२ मा भएको फेयरब्रेकको पहिलो सिजनमा नेपालबाट राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री र सीता सहभागी थिए ।
२०२२ मे १ देखि १५ सम्म भएको फेयरब्रेकमा सीताको टिम द टोर्नाडोजले उपाधि जितेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी सीताले बलिङतर्फ विकेट लिएपछि ‘पुष्पा’ सेलिब्रेसनमार्फत चर्चित बनेकी थिइन् ।
दोस्रो संस्करणको फेयरब्रेक अप्रिल ३ देखि १६ सम्म हङकङमा हुनेछ । कोरोना महामारीका कारण पहिलो संस्करणको प्रतियोगिता हङकङबाट सारेर दुवईमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया 4