
काठमाडौं । अहिले झापाको विर्तामोडमा ‘नाइँ नभन्नु ल ६’को छायांकन भइरहेको छ । तर छायांकन सेटबाट फिल्मको एक महत्वपूर्ण दृश्य टिकटकमा लिक भएको छ ।
सुटिङ हेरेका दर्शकले भिडियो क्लिपलाई टिकटकमा पोस्ट गरिदिएपछि निर्माता र निर्देशक तनावमा छन् । दृश्यलाई पुनः छायांकन गर्ने र कथावस्तुको गोपनीयता कसरी कायम राख्ने भन्ने पिरलो उब्जिएको छ ।
उक्त भिडियोमा डेब्यु अभिनेता आशिर्वाद बराल र अभिनेत्री आँचल शर्मा देखिएका छन् । गितार बोकेका आशिर्वाद र आँचल गफिंदै जेब्राक्रसिङबाट सडक पार गरेको देख्न सकिन्छ । आशिर्वादले सेतो छडी टेक्दै बाटो काटिरहेका छन् । लाग्छ उनी दृष्टिविहीनको चरित्रमा प्रस्तुत हुँदैछन् । भिडियोले फिल्मको चरित्रलाई लिएर दुई महत्वपूर्ण तथ्य बाहिर ल्याएको छ ।
आशिर्वादको पात्रलाई संगीतप्रति रुचि छ । अर्कोतर्फ आँचल र आशिर्वाद सम्बन्धमा छन् । कम्तीमा फिल्मका यी दुई तथ्यलाई टिकटक भिडियोले पुष्टि गरेको छ । तर आशिर्वादको चरित्र वास्तवमै दृष्टिविहीन हो या नायिकालाई फकाउन उनले त्यसो गरेका हुन्, यो अनुमानको कुरा हो ।
फिल्मका लेखक सामीप्यराज तिमल्सिनाले टिकटकका कारण आउटडोर छायांकनमा समस्या भएको बताए । यसअघि छक्कापञ्जा ४, छड्के २ जस्ता फिल्मले पनि टिकटककै कारण छायांकनमा समस्या खेप्नुपरेको थियो । नाइँ नभन्नु ल ६ लाई आगामी वैशाख १ गते रिलिज गर्ने तयारी छ ।
प्रतिक्रिया 4