२५ कात्तिक, काठमाडौं । पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले खेल्दै छन् ।
एपीएफ मधेस प्रदेशलाई ७ विकेटले हराएर तथा आर्मी अर्को विभागीय टोली नेपाल पुलिसमाथि २ विकेटको रोमाञ्चक जित हात पारेर शनिबार हुने फाइनलमा पुगेका हुन् ।
यी दुई टोली तेश्रो पटक फाइनलमा भिड्न लागेका हुन् । सन् २०१८ को दोस्रो संस्करणको फाइनल एपीएफले ६ विकेटले जितेको थियो भने २०२१ को फाइनल आर्मीले ३३ रनले ।
त्यसैले फाइनलमा मैदान उत्रिँदा आर्मी उपाधि जोगाउने लक्ष्यमा हुने छ भने एपीएफ चौथो संस्करणको हारको बदला लिने । त्यसो त एपीएफले जारी संस्करणको समूह चरणमा नै आर्मीलाई ५६ रनले हराएर त्यो बदला केही हदसम्म पूरा गरिसकेको छ ।
बलियो लक्ष्य पछ्याउँदा बढेको आत्मविश्वास
फाइनलमा पुग्ने क्रममा आर्मीले नेपालको राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक र रोमाञ्चक जित निकाल्यो । घरेलु मैदानमा दुई इनिङ्समा गरेर ६१३ रन बन्यो । यो एउटा इतिहास हो ।
पुलिसले दिएको ३०५ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १ बल बाँकी छँदा ८ विकेट गुमाएर ३०९ रन बनयो ।
पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले १४० रनको शानदार पारी खेलेका थिए भने तीव्र गतिका बलर करण केसीले ६ विकेट लिएका थिए । केसीको बलिङ र ऐरी ब्याटिङलाई ओझेलमा पार्दै आर्मीका ब्याटरले सामुहिक प्रदर्शन गर्दै खेल जिताए ।
आर्मीका हरि चौहान र रोहित पौडेलले तेश्रो विकेटका लागि १३५ रनको साझेदारी गरे । ‘जतिसक्दो खेल पछिसम्म लाने विचार थियो । हाम्रा दुई ब्याटरले गरेको साझेदारीले हामीलाई सहज भयो’, कप्तान विनोद भण्डारीले भने ।
चौहान ९२ बलमा ८ चौका र १ छक्का सहित ७५ रन बनाउँदै आउट भए । चौथो क्रममा गएका रोहितले ८९ रन बनाएर मिडविकेटमा क्याच भए ।
विक्रम सोबले १८ बलमा ३० रन बनाए भने नट आउट रहेका राजेश पुलामीले ३७ बलमा ४३ रन । उनले अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै आर्मीलाई फाइनलमा पुर्याए ।
उत्कृष्ट खेलाडी बनेका पुलामीले भने, ‘हरि र रोहितको शतकीय साझेदारीले निकै सहज भयो । उनीहरुले लक्ष्य पछ्याउन पछिल्ला ब्याटरहरुलाई सहजको स्थिति बनाए ।’
सेमिफाइनलमा पुलिसविरुद्धको खेलमा गरेको प्रदर्शनले फाइनल जित्न आत्म विश्वास बढेको बताउँछन् कप्तान भण्डारी । ‘आज बलियो लक्ष्य पार गरेपछि हाम्रो आत्मविश्वास बलियो भएको छ,’ उनले भने, ‘भोलि पनि राम्रो खेल खेल्ने विश्वास छ ।’
आजको खेलले फाइनलका लागि पनि आत्मविश्वास बढेको रोहितलाई पनि लागेको छ । ‘जितको मोमेन्टले भोलिको खेलका लागि आत्मविश्वास बढेको छ । उपाधि जित्ने भरोसा छ,’ उनले भने ।
एपीएफ उत्कृष्ट दिने तयारी
समुुह बीको उपविजेता मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।
हालसम्म कुनै पनि खेल नहार्दै फाइनल पुगेको एपीएफको आत्मविश्वास निकै बलियो छ । फाइनल खेलमा आफ्नो तीनै पक्षमा उत्कृष्ट दिँदै उपाधि जित्ने तयारीमा छ एपीएफ । एपीएफका कप्तान शरद भेषवाकर भन्छन्, ‘अहिलेसम्म हामीले एकजुट भएर खेल्यौं । टिममा खेल्यौं, जसले गर्दा नतिजा पनि निस्कियो । अब अन्तिम खेलमा पनि यसरी नै खेल्ने तयारीमा छौं ।’
टिममा हेर्ने हो भने एपीएफ पनि कमजोर होइन । बलिङमा कमल सिंह ऐरी चोटपछि पनि उत्कृष्ट लयमा देखिएका छन । मौसम ढकाल जारी प्रतियोगितामा सर्वाधिक विकेट निकाल्ने खेलाडीका रुपमा छन् । युवा बलर तथा ब्याटिङमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखको पनि लय राम्रो छ ।
अर्का ब्याटर प्रदी ऐरी प्रधानमन्त्री कप क्रिकेटमा सर्वाधिक रनको रेकर्ड बनाउने खेलाडी हुन् । उनले २०१८ मा मधेश प्रदेशविरुद्ध १५८ रन बनाएका थिए । उनको त्यो रेकर्ड हालसम्म कसैले तोड्न सकेका छैनन् ।
एपीएफका कप्तान भेषवाकर कुनै एक खेलाडीको प्रदर्शनले भन्दा पनि टिम गेमले उपाधि जित्ने दाबी गर्छन् । ‘हामी कुनै एक खेलाडीले खेलेन अथवा सकेन भन्दैनौं सधंै सबैले खेल्न सक्दैनन्,’ उनले भने, ‘टिमले खेलेर बाँकी रहेको एक खेल जित्न कोसिस गर्नेछौं ।’
प्रतिक्रिया 4