
२६ कात्तिक, डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभएर भागबण्डाका लागि भएको आरोप लगाएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी डोटीले दिपायलमा गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशकको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नभएको बताए ।
‘विभिन्न दलहरुबीच जुन गठबन्धन भएको छ त्यो देशको विकास समृद्धिका होइन, ती दलका नेतलाई राष्ट्रियताप्रति चिन्ता र चासो छैन,’ ओलीले भने, ‘केबल जनतालाई झुटा आश्वासन दिएर चुनाव जित्नु र पछि भागबण्डा गरेर खानु एउटा मात्र उद्देश्य हो ।’
मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरु पश्चिम सेती, खुटीया दिपायल फास्ट ट्रयाक, सहजपुर बोगटान राजमार्गलाई पूर्णता दिने, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता गर्ने बताए ।
ओलीले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेमगरप्रति आक्रमक भए ।
आलेले मन्त्री पदमा रहँदा बोलेका भाषाले गर्दा डोटीको मात्र नभई राष्ट्रको समेत बेइज्जत गरेको बताए । नेपाली कांग्रेसका उम्मेदवारलाई पाखा लगाएर आले हावी भएको उनले बताए । ओलीले भने, ‘कांग्रेसका उम्मेदवारलाई ओरालो बगाएर कांग्रेसकै भोटले चुनाव जित्न चाहनेलाई कांग्रेसले किन भोट दिने ?’
स्मरणीय रहोस् आलेलाई ओलीले नै वन मन्त्री बनाएका थिए । तर पछि पार्टी फुटेपछि एकीकृत समाजवादीमा लागेका आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएका थिए ।
प्रतिक्रिया 4