
२६ कात्तिक, रामेछाप । ४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– १ मा पूर्वसांसद शान्तिप्रसाद पौडेल र संविधान सभा सदस्य तारानारायण श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
पौडेल २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ २०६४ को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण एमालेका पौडेलले सहज ढंगले चुनाव जितेका थिए । २०७४ सालमा पौडेलले कांग्रेसका रत्न कार्कीलाई ६ हजार ३२१ मतान्तरले पराजित गरेका थिए । पौडेलले २२ हजार ३७९ मत ल्याएर विजयी बन्दा कार्कीले १६ हजार ५८ मत ल्याएका थिए । तर, यसपटक माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठलाई नेपाली कांग्रेसले साथ दिएको छ ।
श्रेष्ठ र पौडल दुबै जना दोस्रो पटक प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । प्रदेश सभा १ मा रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका पर्छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिका मात्रै जित्दा एमालेले उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिका जितेको थियो । प्रदेश सभा १ मा माओवादीले केही वडाबाहेक प्रमुख पद जितेको थिएन ।
तर २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम भने अघिल्लोभन्दा धेरै नै फरक छ । रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका अहिले नेपाली कांग्रेसले जितेको छ । एमालेले उमाकुण्ड गाउँपालिकामा मात्रै जित्दा माओवादीले भने केही वडाबाहेक प्रमुख पद जितेको छैन ।
एकीकृत समाजवादीको छुट्टै उम्मेदवार
सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले यो क्षेत्रमा छुट्टै उम्मेदवार उठाएको छ ।
कांग्रेस र माओवादीले आफूहरुलाई अवमूल्यन गरेको भन्दै एकीकृत समाजवादीले प्रदेश सभा १ मा मन्थली नगरपालिकाका पूर्वमेयर समेत रहेका रमेशकुमार बस्नेतलाई उम्मेदवार बनाएको छ ।
गठबन्धनभित्र असन्तुष्टि भएकाले आफूहरुले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दिएको एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले बताए । ‘हामीले मागेको प्रदेश सभा १ हामीलाई दिएनन्’, उनले भने, ‘एक्लै लडे पनि हाम्रो जित पक्का छ ।’
एमालेका उम्मेदवार पौडेलले यसअघि पनि सांसद हुँदा धेरै काम गरेको भन्दै अब बाँकी रहेको कामहरु पूरा गर्न मतदाताले आफूलाई भोट हाल्ने उनले बताए । उनले भने, ‘मैले विवादरहित तरिकाले कसैको मन नदुखाइ काम गरेको छु । मलाई अवश्य पनि नागरिकले भोट हाल्छन् भन्नेमा म विश्वस्त छु ।’
सत्ता गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठले २०६४ को संविधान सभा सदस्यमा आफू निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै यो पटकको निर्वाचनमा नेपाली कांग्रेसको पनि साथ रहेका कारण आफ्नो जित पक्का रहेको बताए ।
उनले भने, ‘मैले गरेको काम नागरिकले महसुस गरेका छन् । नेपाली कांग्रेसको साथ पनि हामीलाई छ । हामीले जित्नेमा दुई मत छैन ।’
प्रतिक्रिया 4