
२७ कात्तिक, काठमाडौं । आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट ‘क्रस खुकुरी’ चुनाव चिह्न भएका उम्मेदवारहरूले आमसभा गरेका छन् ।
पेप्सीकोलास्थित फुटबल मैदानमा आयोजित आमसभामा बोल्दै उम्मेदवारहरूले नेपाल स्वतन्त्र नागरिक सञ्जालका तर्फबाट उम्मेदवारी दिएको बताएका छन् ।
सभामा सम्बोधन गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले क्रस खुकुरी चुनाव चिह्न लिएर राजनैतिक दर्शन र विचारसहित देशै भरिबाट स्वतन्त्रहरूले उम्मेदवारी दिएको बताए ।
‘मुलुकमा पटकपटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन । मुलुकको संविधान र ऐन कानुनहरू निर्माण गर्दा जनताको हितभन्दा पनि सिमित दल तथा नेतामुखी नियम कानुन बनाइयो,’ उनले भने, ‘जनताको इच्छा चाहना विपरीतका धाराहरू संविधानमा राखिएकाले व्यवस्था परिवर्तन अपुरो भयो र जनताले सोचेको परिवर्तन अधुरै रह्यो । त्यसैले संविधानमा भएका गलत व्यवस्था खारेज गर्नुपर्छ ।’
उनले व्यवस्थामा रुपान्तरण गर्नका लागि क्रस खुकुरी चुनाव चिह्न लिएर उठने सबै उम्मेदवार र अन्य स्वतन्त्रहरूलाई विजय गराउनले अनुरोध गरे ।
कार्यक्रममा बोल्दै आमसभा आयोजक काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार अनुप बोहराले यस क्षेत्रबाट पटकपटक चुनाव जितेर प्रधानमन्त्री र राष्टपति हुँदासमेत विकासमा पछाडि परेको भन्दै आफू संसदमा गएर गलत कानुनलाई खारेज गर्ने र सुशासन तथा समृद्धिको लागि पहल गर्ने बताए ।
उनले आफू ठुला विकास पुर्वाधारमा केन्द्रित रहने, काठमाडौं उपत्यकाभर पाँच वर्षभित्र सडक जाम अत्य गर्ने, पूर्वाधार निर्माण गर्न भूमिका खेल्ने र समयमा विकास निर्माण सम्पन्न नगर्ने र भष्टाचार गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै ललितपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले आगामी चुनाव सत्य र असत्यहरूको प्रतिसपर्धा भएकाले क्रस खुकुरी चुनाव चिह्न लिने सबै उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
कार्यक्रममा क्रस खुकुरी चुनाव चिह्न लिएर उम्मेदवारी दिने काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार इन्जिनियर दिपु उप्रेती, क्षेत्र नं. ८ का स्वतन्त्र उम्मेदवार दीपक खनाल र क्षेत्र नं. १० का स्वतन्त्र उम्मेदवार अधिवक्ता तिलक रिजाल लगाएत विभिन्न स्वतन्त्र अभियान्ताहरुले धारणा राखेका थिए ।
प्रतिक्रिया 4