+
+

मोहनविक्रमको चुनाव प्रचार शैली : मञ्चमा भेटिंदैनन्, घरघर पुग्छन्

सलिम अन्सारी सलिम अन्सारी
२०७९ कात्तिक २७ गते १३:१६
प्यूठानमा मोहनविक्रम सिंह ।

२७ कात्तिक, प्यूठान । प्रतिनिधि सभाको एउटा मात्र क्षेत्र रहेको प्यूठानमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैमध्येकी एक हुन् दुर्गा पौडेल (५१) । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन् । प्युठानमा मुख्य प्रतिस्पर्धा उनै दुर्गा पौडेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाबीच नै हुने छ ।

दुर्गा पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । मोहनविक्रम आफूलाई अर्धभूमिगत भन्न रुचाउँछन् । अर्धभूमिगत भएकाले उनले आफ्नै श्रीमतीलाई समेत भोट हाल्दैनन् ।

तर चुनाव प्रचारको क्रममा दुर्गाका लागि भोट माग्दै गाउँ-गाउँमा भने पुग्ने गरेका छन् । ८७ वर्षीय मोहनविक्रम सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदैनन् । उनी बन्द कोठाभित्रै स्थानीयलाई भेला गर्ने, प्रशिक्षण दिने र दुर्गाका लागि मत माग्न व्यस्त हुने गरेका छन् ।

पार्टीको उम्मेदवारलाई जिताउनका लागि आफूले प्युठानमा भेटघाट, प्रचार र तयारी गरिरहेको उनले सुनाए । ‘कमरेड दुर्गा या अरु सबै पार्टीकै उम्मेद्वार हुनुहुन्छ, यसलाई सामान्यरुपमै बुझ्नुपर्छ’, मोहनविक्रमले भने, ‘उहाँहरुमध्ये जो कसैको चुनावी जितमा मलाई खुसी नै लाग्ने छ ।’ प्रतिनिधि सभामा बागलुङ १ बाट चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेल जनमोर्चाका उम्मेदवार छन् ।

दुर्गा पौडेल २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन् । त्यतिबेला उनलाई वाम गठबन्धन -एमाले र माओवादी) को समर्थन थियो । उनलाई अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीसमेतका दलको समर्थन छ ।

प्युठानमा एमाले एक्लै प्रतिस्पर्धामा छ । एमाले उम्मेदवार सूर्य थापा पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् । थापाको चुनाव प्रचारमा उनकी श्रीमती सुवर्णा वलीले सघाइरहेकी छन् । उनले चुनावी परिणाम कस्तो आउला भन्ने प्रश्न मनमा उठेको सुनाइन् । ‘उहाँ (सूर्य थापा) पहिलोपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । के होला, कसो होला भन्ने प्रश्नहरु पनि मनमा छन्’, वलीले भनिन्, ‘प्रश्न र उत्साह दुवै छ ।’

गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेभन्दा सत्ता गठबन्धन ११ हजार मतले अघि छ । प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ ।

जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ । दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ३२२ मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?