२८ कात्तिक, काठमाडौं । युवा विकेटकिपर ब्याटर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा नेपालका लागि आफ्नो पहिलो खेलमै अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको युएईविरुद्धको पहिलो ओडीआईमा अर्जुनले ओपनिङ गर्दै अर्धशतक पूरा गरेका हुन् ।
अर्जुनले रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअघि ५१ रन बनाए । ७९ बल खेलेका उनले ५ चौका प्रहार गरे ।
अर्जुनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । अर्जुन नेपालका लागि ओडीआई डेब्यूमा अर्धशतक बनाउने ज्ञानेन्द्र मल्ल र कुशल मल्लपछि तेस्रो खेलाडी हुन् ।
अर्जुनले गत सेप्टेम्बरमा केन्या भ्रमणमा टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरिसकेका छन् । विकेटकिपर ब्याटर अर्जुनले केन्यासँग एकदिवशीय क्रिकेट पनि खेलेका थिए ।
प्रतिक्रिया 4