
‘भोट फर प्रचण्ड
भोट फर माओवादी
मनमनमा माओवादी
मनमनमा प्रचण्ड’
कात्तिक १६ गते सार्वजनिक यो र्याप गीतले तन्नेरीमाझ चर्चा बटुल्यो । नेकपा माओवादी केन्द्रले आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतमा माओवादी सत्तारुढ हुँदा उसले गरेका उपलब्धिको चर्चा छ ।
‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्याप गीत’ भन्दै पार्टीले यसलाई सामाजिक सञ्जालमा सेयर गरिरहेको छ ।
‘हो बोली अलि कडा छ
दिमाग तगडा छ
कम्फर्टेबलहरुको लागि हल्का लफडा छ
सत्तरी कटेनी भरिलो दिमाग छ
शब्दको वर्षा छ, उनकै चर्चा छ
को हो को हो, भन्दे त भाइ
बा केपी बा’
कात्तिक २६ गते शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलस्थित एलओडी रात्रिक्लब पुगे । त्यहाँ पुगेर उनले सार्वजनिक गरेको र्याप गीतमा ओलीको ‘देवत्करण’ छ । रमाइलो गर्दै झुमिरहेका युवाले खचाखच एलओडीको स्टेजमा पुगेका ओलीले राष्ट्रिय झण्डा उठाउँदै एमालेलाई भोट मागे ।
‘भोट फर गगन थापा
हाम्रो युवा नेता
सबैको एउटै नारा
भोट फर गगन थापा’
२०७० सालको संविधानसभा चुनावमा र्यापर गिरिश खतिवडाले कांग्रेस उम्मेदवार गगन थापालाई भोट माग्दै ‘भोट फर गगन थापा’ गीत निकालेका थिए । यो गीत सम्भवतः चुनावलक्षित नेपालको पहिलो र्याप गीत हुनुपर्छ ।
उनै र्यापर खतिवडा र द युनिटी ब्याण्डले १३ वर्षअघि भोट किनबेचको प्रवृत्तिलाई व्यंग्य गर्दै ‘मलाई भोट देऊ’ गीत ल्याएका थिए । पोलिटिकल हिपहप गायनमा रुचि राख्ने गिरिशको उक्त गीतले नेपाली चुनावको कालो आयाममाथि कटाक्ष गरेको थियो ।
नेपाली संगीतको कान्छो जनरा मानिने हिपहपको सहविधा र्याप गायन यतिबेला नेपाली राजनीति र चुनावको केन्द्रमा छ । भोट माग्दै पेरिसडाँडाले र्याप गीत निकालेपछि त्यो शैलीलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पछ्याएका छन् ।
र्यापलाई भोट माग्ने सहारा बनाउनु र सहरिया तन्नेरीको ह्याङआउट गर्ने प्रमुख थलो एलओडी पुगेर भोट माग्ने ओलीको हालैका दृष्टान्त घरेलु राजनीतिमा आएको परिवर्तनको संकेत हो । एलओडी क्लब ठाउँ मात्र रहेन, सहरिया युवाको सोचको विम्ब समेत हो । र्याप अब गीत मात्र रहेन, पुस्तान्तरणको सूचक समेत हो ।
कुनैबेला ‘ट्यापे’ गीत भनेर सीमान्तकृत बनाइएको हिपहपअन्तर्गतको र्यापलाई देश हाँक्ने शीर्ष दल र नेताले भोट माग्न इन्डोर्स गर्नुको ठूलै अर्थ छ । यस्तो संकेत र्याप गायक समेत रहेका बालेन्द्र साहप्रतिको क्रेज र उनको चुनावी अभियानबाटै महसुस गरिएको थियो ।
लोकलय र जनवादी गीत केही ‘ओझेलमा’
यसपटकको चुनावले केही प्रवृत्तिलाई संकेत गरेका छन् । पहिलो- चुनावी प्रचारप्रसार भर्चुअल प्लेटफर्म केन्द्रित भएका छन् । दोस्रो- प्रचारप्रसारमा दलहरुले लोकलय र जनवादी गीतभन्दा र्याप गीतलाई प्राथमिकता दिएका छन् । तेस्रो- कलाकारको उपस्थिति दल र उम्मेदवारको पक्षमा बढी नै खुल्न थालेजस्तो देखिन्छ ।
अघिल्ला चुनावको प्रचारको केन्द्रमा लोकलय र जनवादी गीत हुन्थे । बद्री पंगेनी र चेतन सापकोटाले पार्टीलाई भोट माग्दै गीत निकाल्दा विगतका चुनावको माहोल बन्थ्यो । यसपटक पनि सापकोटा र पंगेनीले लोकलय र सुगम शैलीमा गीत त ल्याएका छन् तर बढी चर्चा हिपहप र्यापकै छ ।
मुलुकको ठूलोमध्येको एक र्याप गायन समूह एएनटीएफका प्रमुख सुरेन्द्र गुरुङ ‘हाकिम’ १६ देखि २५ वर्ष उमेरका फ्रेस भोटरलाई लक्षित गर्दै दलहरुले धमाधम र्याप गीत निकालेको विश्लेषण गर्छन् । ‘किनभने यो उमेरकाले लोकदोहोरी सुन्दैनन् । यिनीहरुको फेभरेट गीत भनेकै र्याप हो । यो समूहलाई आकर्षित गर्न पार्टीहरुले र्याप गीत ल्याएका हुन्,’ उनले भने ।
सहरिया किशोरकिशोरीले नेताभन्दा सेलिब्रिटी र कलाकारलाई पत्याउने र फलो गर्ने भएकाले पनि र्याप संगीतको सहारा लिएको हुनसक्ने गुरुङको विश्लेषण छ । ‘अल्लारे भोटरलाई आकर्षित गर्न र्यापभन्दा अर्को उपाय हुँदैन । किनभने र्याप किशोरकिशोरीसँग सञ्चार र अन्तरक्रिया गर्ने प्रभावकारी उपाय हो । यही माध्यमलाई पार्टीले पछ्याएका हुन्,’ गुरुङको टिप्पणी छ ।
बालेन र हिपहप क्रेज
‘सकियो बुढापाकाको पालो
अब युवाको पालो
बालेनको पालो’
वैशाख ३० गते भएको स्थानीय चुनावमा र्यापर समेत रहेका बालेनलाई भोट माग्दै अर्का र्यापर भियोमाले उक्त गीत गाएका थिए । अन्य केही र्याप गीत पनि जुन टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल बने ।
बालेनलाई भोट माग्न उनका प्रशंसकले र्यापको सहारा लिए । लाउरे, गिरिश खतिवडा लगायतका अन्य र्यापरले पनि बालेनलाई भोट मागिदिए । उनीहरुलाई थाहा थियो- सहरका फ्रेस भोटरसँग जोडिन र्यापभन्दा अर्को माध्यम हुन सक्दैन ।
स्थानीय चुनावको केही साताअघि एक टेलिभिजनमा बालेनले चर्चित नेपाली फिल्म ‘बलिदान’को गीत ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन’लाई र्यापमा रुपान्तरण गरेर गाइदिए । जुन गीतले चुनावी माहोल र मतदाताको मनोविज्ञान सिर्जना गर्न भूमिका खेल्यो ।
उम्मेदवारी दिने क्रममा बालेनलाई र्यापर भन्दै कम आँकेका दलका नेता र कार्यकर्ताले अन्ततः बालेनकै शैली पछ्याउनुले राजनीति मात्र होइन, नेपाली समाजको पछिल्लो पुस्तामा हिपहप ट्रेण्ड कसरी स्थापित हुँदैछ भन्ने कुराको पुष्टि गर्छ ।
‘पप कल्चर’लाई पछ्याउँदै दलहरु
संगीतलाई माध्यमको रुपमा प्रयोग गर्ने प्रवृत्ति यहाँ मात्र होइन, पश्चिमा मुलुकमा समेत व्याप्त छ । बाराक ओबामालाई जिताउन अमेरिकी राष्ट्रपति निर्वाचनको क्रममा जे-जेड, बियोन्सेले संगीतमार्फत भोट मागे । र्यापर केनी वेस्टले त डोनाल्ड ट्रम्पको पक्षमा खुलेर भोट मागेका थिए । र्यापर वेस्टले त आफ्नो स्टारडमलाई राष्ट्रपतीय निर्वाचनमा उठ्ने माध्यम बनाउन खोजे ।
प्राध्यापक तथा संगीतमै विद्यावारिधि गरेका गायक लोचन रिजाल राजनीतिले संगीतलाई माध्यमको रुपमा प्रयोग गर्ने प्रवृत्ति जतासुकै हुने बताउँछन् । ‘नेपालमा पनि युथहरुले बढी सुन्ने संगीत भनेकै र्याप भएर होला । राजनीतिक मुभमेन्टमा दलहरुले र्यापलाई सहारा बनाएको हुनुपर्छ,’ भन्छन्, ‘दलहरुले इन्डोर्स गर्नु यो समयको लागि मात्र हो । सांस्कृतिक परिवर्तन त भइहाल्छ ।’
आमसञ्चार र प्रविधिमा पहुँच तथा इन्टरनेटको कारण युवापुस्ताले र्याप संगीतलाई मन पराएको र युवापुस्ताको सोही रुचिलाई ध्यानमा राख्दै दलहरुले हिपहपलाई इन्डोर्स गरेको हुनसक्ने गायक रिजालको तर्क छ ।
उनी भन्छन्, ‘मिडिया नहुँदा पनि लोकसंगीत पपुलर थियो । टीभी र रेडियो आएपछि आधुनिक संगीत चल्न थाले । इन्टरनेटको पहुँच हुन थालेपछि हिपहप र र्याप लोकप्रिय हुन थाले । यो पपुलर कल्चरलाई दलहरुले आत्मसात गर्न खोजेजस्तो देखिन्छ ।’
राजनीतिक विषयमा दलहरुले र्याप गायनलाई आत्मसात गर्नुलाई र्यापरहरु समयको माग भन्न रुचाउँछन् । ‘राजनीतिले र्यापलाई स्थान दिन खोजेजस्तो देखिन्छ,’ एएनटीएफका प्रमुख तथा र्यापर हाकिम गुरुङ भन्छन्, ‘नेपहपको भविष्यको लागि पनि यो सुखद् पक्ष हो । हामी त यो कुरालाई लिएर अति नै खुसी छौं । अबको भोटर भनेको जी-बबको पुस्ता हो । उनीहरुको मन जित्न र्यापको सहारा लिनैपर्छ ।’
जी-बब र भिटेनको पुस्ता चाहन्छ, राजनीति सुध्रिनुपर्छ
नेपाली हिपहपको पछिल्लो पुस्ता राजनीतिलाई लिएर असन्तुष्ट छ । गिरिश खतिवडा, यमबुद्धदेखि दोस्रो पुस्ताका र्यापरहरु लाउरे, भिटेन, जी-बब, साकार नेपाली समाज र राजनीतिप्रति असन्तुष्ट देखिन्छन् । उनीहरुले पछिल्ला गीतमा राजनीतिक बेथिति र नेताहरुप्रति आक्रोश पोखेका छन् ।
पछिल्लो पुस्तामा रहेको भविष्यप्रतिको अन्योल, पुस्तान्तरण र सोचलाई समेटेर यी र्यापरले गीत निकाल्ने गरेका छन् । बालेनसम्म आइपुग्दा र्यापमार्फत देश बनाउने हुटहुटी जागेको महसुस गर्न सकिन्छ । बालेनले गाएको ‘बलिदान’को रुपान्तरण गीत यो हुटहुटीको एउटा उदाहरण हो ।
‘राजनीतिप्रति र्यापरहरु चिन्तित हुन स्वभाविक हो । किनभने समाज र राजनीतिले र्यापलाई जहिल्यै हेयको दृष्टिकोणले हेर्यो । तर चुनावमा आएर र्यापलाई नै भोट माग्ने माध्यम बनाइएको छ । एक किसिमले यो हाम्रो दिन पनि आउँदैछ भन्ने हो,’ गुरुङले भने ।
प्राध्यापक तथा गायक रिजालले भनेजस्तै संस्कृति परिवर्तन अनिवार्य आवश्यकता हो । के अब नेपाली संगीतलाई र्यापले निर्देशित गर्ला ? प्रमुख दलहरुको र्याप गीत ‘इन्डोर्स’ले त्यसतर्फ संकेत गरेको त होइन ?
प्रतिक्रिया 4