
सिन्धुपाल्चोकमा जन्मिएका ६३ वर्षीय राजेन्द्र श्रेष्ठ काठमाडौं–१७, क्षेत्रपाटीका बासिन्दा भएका छन् । एमबीएसम्म अध्ययन गरेका उनी नेकपा (चौम)मा आवद्ध भएर सक्रिय राजनीतिमा आएका हुन् ।
२०३९ मा नेकपा (माले)मा लागेपछि श्रेष्ठको भूमिगत जीवन सुरु भयो । मालेको काठमाडौं नगर विशेष समिति, जिल्ला समिति र काठमाडौं उपत्यका विशेष समन्वय समिति हुँदै उनी २०४९ मा नेकपा (एमाले)को केन्द्रीय सदस्य बने ।
२०६९ सालमा पहिचानको मुद्दा लिएर अशोक राईको नेतृत्वमा बनेको संघीय समाजवादी पार्टीमा संस्थापक महासचिव बन्न पुगे श्रेष्ठ । अहिले राई जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद अध्यक्ष र श्रेष्ठ वरिष्ठ नेता छन् ।
२०५१ सालको मध्यावधि र २०५६ को आम निर्वाचनमा एमालेको टिकटबाट काठमाडौंमा विजयी श्रेष्ठ २०७४ मा संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बने । उनी चार दशकको राजनीतिमा ३ पटक सांसद र २ पटक मन्त्री भए ।
अहिले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता रहेका श्रेष्ठ यसपटक काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यसपटक भने उनलाई व्यवस्थापिका पुग्न पहिला जस्तो सहज देखिंदैन ।
तर, आफूप्रति मतदाताको कुनै गुनासो नरहेकोले विजयी बनाउने उनको जिकिर छ । ‘उहाँहरूले मलाई मर्दापर्दा जुनसुकै ठाउँमा आउने सजिलो मान्छेको रूपमा लिनुभएको छ’ उनी भन्छन्, ‘म हिजो पनि र आज पनि जनताकै बीचमा छु, भोलि पनि जनताकै बीचमा हुने हो ।’
चुनावी अंकगणित
काठमाडौं–७ मा नेकपा (एमाले)का श्यामकुमार घिमिरे र एमालेकै विद्रोही रामवीर मानन्धरसहित स्वतन्त्र उम्मेदवारहरू पनि छन् ।
गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ ।
त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्दले ५७६ र जसपाले १६२ मत पाएको छ । स्वतन्त्र उम्मेदवारहरूले पाएको भोट संख्या २ हजार २०६ छ ।
काठमाडौंमा जसपाको संगठन बलियो छैन । स्थानीय चुनावमा जसपाले १६२ मत पाएको छ । तर, स्थानीय चुनावलाई अरू चुनावसँग तुलना गर्न नहुने श्रेष्ठ बताउँछन् ।
संसदीय चुनावमा एमाले कार्यकर्ताले समेत आफूलाई मत दिने श्रेष्ठको आशा छ । यो क्षेत्रमा आफूले गरेको संघर्ष र काम एमाले नेता–कार्यकर्ताको मस्तिष्कमा गढेर बसेको उनी बताउँछन् ।
प्रतिक्रिया 4