
१ मंसिर, काठमाडौं । सरकारले हरेक वर्ष कर दिवसका दिन (१ मंसिर) मा आयोजना गर्ने उत्कृष्ट करदाता सम्मान कार्यक्रम यस वर्ष ७ मंसिरमा आयोजना गरिने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार बिहीबारदेखि कर दिवसको औपचारिक कार्यक्रम सुरु भएको छ । यसबीचमा एक सातासम्म विभागले निजी क्षेत्रका संघ–संगठन तथा सरोकारवालासँग समन्वय गरी निर्वाचन आचार संहिताभित्र रहेर अन्तरक्रिया, सम्वाद तथा कर शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
७ मंसिरका दिन भने करदाता सम्मान तथा कर्मचारीलाई पुरस्कृत गरिने विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने विभिन्न करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ । विभागले छुट्टाछुट्टै शीर्षकमा बढी कर तिर्ने करदातालाई सम्मान गर्छ ।
सरकारले २०६९ सालदेखि १ मंसिरमा राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । यस वर्षको कर दिवसको नारा ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार : दीगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने रहेको छ ।
प्रतिक्रिया 4