+
+

नकारात्मक भोटको नमूना : नानीमैया दाहाल

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १३ गते १८:०५

१३ असोज, काठमाडौं । अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग्रह मालेले बहिस्कार नगरेको भए ४ लाख भोटको अन्तरले एकदलीय पञ्चायतले जित्ने थिएन र ०३७ साल जेठ १ गते नै बहुदल आउने थियो । तर, जनमत संग्रहको नतिजाबाट रन्थनिएको मालेले ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार मात्रै गरेन, वीरगञ्ज, झापा र काठमाडौंमा ‘नकारात्मक भोटिङ’को अभ्यास समेत गर्‍यो ।

Prachanda-and-padam

यसरी भेटिइन् नानीमैया

तत्कालीन मालेको स्थानीय नेतृत्वले ०३८ सालको चुनावमा काठमाडौंबाट जनपक्षीय उमेद्वारका रुपमा पद्मरत्न तुलाधरलाई उठाउने विचार गरेको थियो । तर, पार्टीले जनमत संग्रहमा जस्तै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिस्कारको नीति लियो । पार्टीले चुनावमा भाग लिन नपाउने भएपछि मालेका युवा नेताहरुले उट्पट्याङ मान्छेलाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले ।

यो उट्पट्याङ कार्यमा तत्कालीन अखिल पाँचौं सक्रियतापूर्वक लाग्यो । त्यतिबेला सीताराम मास्के, केशव स्थापित, गौरी प्रधान, राजेन्द्र श्रेष्ठ लगायतका युवा नेताहरुले पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्न शुरु गरे । र, यहीक्रममा भेटिइन् नामनीमैया दाहाल । नानीमैया दाहाललाई त्यसबेला गोल्चे सार्कीले फेला पारेर असनमा रहेको पार्टी अफिसमा पुर्‍याएका थिए । बहुदल आएपछि राजनीतिको केन्द्र भागमा आएका सार्की तिनै व्यक्ति हुन्, जसले प्रतिनिधिसभामा कांग्रेस नेता रामचन्द्र पौडेललाई मुक्का हानेका थिए ।

नानीमैया त्यसबेला पनि अहिलेजस्तै थिइन् । मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्नु अनि रिस उठ्यो भने साडी उचालेर देखाइदिनु नानीमैयाको न्युनतम योग्यता ठहरियो माले नेताहरुका लागि । आजभोलि डिल्लीबजार र चावहिलको मालपोत कार्यालय वरिपरि भेटिने नानीमैया ०३८ सालतिर पनि यसैगरी अरुकै काम गरिदिने र सरकारी कार्यालयमा भनसुन गर्दै हिँड्थिन् । एमाले नेताका अनुसार त्यसबेला राष्ट्रिय पञ्चायतमा उमेद्वार बनाउन माले नेताहरुले फकाउँदा उनले खुशी हुँदै सहजै स्वीकारेकी थिइन् ।

मैयासँग हारे चित्रकार

०३८ साल बैसाख २७ गते भएको राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका दुई सीटमध्ये एउटामा जोगमेहर श्रेष्ठले जिते भने अर्को सीटमा उट्पट्याङ उमेद्वार नानीमैयाले जितिन् । नानीमैयासँग काठमाडौं नगर पञ्चायतका मेयर कमल चित्रकारले प्रतिश्पर्धा गेका थिए । तर, पञ्चायतलाई बेइज्यत गर्न भन्दै काठमाडौंका बासिन्दाले पञ्चलाई हराई नानीमैयालाई जिताएर नकारात्मक भोटिङको पहिलो अभ्यास गरे ।

पुहातुलाई राष्ट्रिय पञ्चायतबाट हटाइयो

त्यसबेला तत्कालीन मालेले काठमाडौंमा मात्रै होइन, झापा र वीरगञ्जमा पनि यसै गरी निर्वाचनलाई ठट्टाको रुपमा उपयोग गरेको थियो । झापामा पुहातु चौधरीलाई माले कार्यकर्ताले राष्ट्रिय पञ्चायतको चुनावमा जिताएका थिए । चप्पल मात्रै लगाएर संसद भवनमा प्रवेश गर्न पठाइएका पुहातुले एउटा कार्यक्रममा भाषण गर्नेक्रममा ०१७ सालमा राजा वीरेन्द्र (महेन्द्र भन्नु पर्ने) ले  निरंकुश व्यवस्था लादेको भनेपछि उनलाई राष्ट्रिय पञ्चायतबाटै बर्खास्त गरिएको गरियो । नानीमैया भने बर्खास्तीमा परिनन् । नानीमैयाले आफ्नो काम नगरिदिएको भन्दै सूर्यबहादुर थापालाई साडी उचालेर देखाएको तत्कालीन माले नेताहरु सम्झन्छन् । मालेले वीरगञ्जमा उठाएका एकजना कुचीकारले भने चुनाव जितेनन् ।

पदम कुँवरलाई पुहातु बनाउने प्रयास

आगामी मंसिरमा हुने भनिएको संविधानसभा चुनाबमा ०३८ सालमा जस्तै काठमाडौंमा उट्पट्याङ उमेद्वार खडा गरेर ठूला नेतालाई हराउने नानीमैयाको खोजी हुन थालेको छ । र, यसका लागि खडा गर्न लागिएको छ प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर । केही व्यक्तिहरुको लहैलहैमा लागेर कुँवरले आगामी चुनावमा काठमाडौं १० बाट प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेका छन् । तर, के पदम कुँवर नानीमैया दाहाल वा पुहातु चौधरी बन्लान् त ? त्यस्तो भयो भने  भारतको अदालतले भनेजस्तै ‘नेगेटिभ भोटिङ’ अर्थात नेपाली शैलीको ‘राइट टु रिजेक्ट’ सरह हुनेछ ।

प्रचण्डविरुद्ध चुनाव लड्ने घोषणासहितको पदम कुँवरको भीडियोसमेत सामाजिक सञ्चालमा प्रचार गर्न थालिएको छ । तर, कुँवरलाई प्रचण्डविरुद्ध कसले यसरी उचालिरहेको छ भन्ने कुरा ०३८ सालमा जस्तै भूमिगत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?