
काठमाडौँ । पर्यटन बोर्डका अधिकारीले नेपालमा छायांकन गरिएको भारतीय फिल्म ‘उचाइ’ हेरेका छन् । नेपालस्थित फिल्मका लाइन प्रोड्युसरले बोर्डको लागि विशेष शो आयोजना गरेका थिए ।
उक्त शोमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित फिल्म सम्बद्ध व्यक्तिहरुको समेत सहभागिता थियो ।
पर्यटन बोर्डका ब्यवस्थापक सूर्य थपलियाले फिल्म र पर्यटन क्षेत्रबीच सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी आयोजना गरिएको बताए ।
उनले भने, ‘चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डबीच सहकार्यको ढोका खोल्ने काम गरेका हौं । फिल्म क्षेत्रले नेपालको पर्यटनमा कति फरक पार्छ भन्ने कुरा उचाइले देखाएको छ ।’
भारतसहितका विदेशी फिल्मलाई नेपालमा छायांकन गर्ने वातावरण मिलाउन चलचित्र क्षेत्रसँग सहकार्य गर्न लागेको उनले बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष केसीले विदेशी फिल्म नेपालमा छायांकन गरी नेपालको हरेक क्षेत्रको हित हुने काममा बोर्ड सदैव साथमा रहेको प्रतिक्रिया दिए ।
उनले बोर्डको नीति धेरै भन्दा धेरै विदेशी फिल्मलाई नेपालमा ल्याएर ‘छायांकन हब’ बनाउने रहेको बताए । गतसाता नेपाल र भारतसहित विश्वभर रिलिज भएको फिल्म अहिले दोस्रो सातामा चलिरहेको छ ।
प्रतिक्रिया 4