+
+
ललितपुर २ :

विकल्प खोज्ने मतदाता घन्टी र लौरोमा बाँडिदा एमालेको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १:०४

६ मंसिर, काठमाडौं । पहिलो र तेस्रो दलको समर्थनमा आफ्नै दलबाट फुटेर बनेको एकीकृत समाजवादीबाट निवर्तमान सांसदको उम्मेदवारी, अनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलको प्रवेश । ललितपुर क्षेत्र नम्बर २ मा आफ्नो जित जोगाउन नेकपा एमालेलाई सहज थिएन ।

तर त्यही ललितपुर-२ बाट एमालेले खाता खोलेको छ । सोमबार राति सकिएको मत गणनामा एमालेका प्रेम महर्जन ६ हजार १३९ मतान्तरले विजयी भएका छन् ।

एमालेका महर्जनले १५ हजार २५ मतका साथ सांसदमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाएका छन् ।

कांग्रेस मैदानमै थिएन

गत वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा क्षेत्रमा कांग्रेसले पहिलो दल हो । उसका उम्मेदवारहरुले १९ हजार ८८२ मत पाउँदा एमालेले १५ हजार ७१० मत, माओवादी केन्द्रले ५ हजार ०२३, राप्रपाले ३ हजार ४९५ र एकीकृत समाजवादीले ३ हजार १९२ मत पाएको थियो ।

सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटमा एकीकृत समाजवादीले बहालवाला सांसद आफ्नो दलमा भएकै कारण यो क्षेत्र छाडेन । सिट लिएपछि पनि निवर्तमान सांसद कृष्णलाल महर्जनलाई नै उम्मेदवार बनायो ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेका महर्जन २७ हजार ७१३ मतका साथ निर्वाचित हुँदा कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका थिए । विवेकशील साझा पार्टीले ५,४०८ मत, नयाँ शक्ति पार्टी नेपालले ९६३ र संघीय समाजवादी फोरमले ९६० मत प्राप्त गरेका थिए । अघिल्लो संघीय निर्वाचन जितेको तथा कांग्रेस र माओवादीको समर्थन भएकाले कृष्णलाललाई यो पटक जित निकाल्न सहज हुनुपर्थ्यो ।

तर नतिजा उल्टो भएर आइदियो । किनकी कृष्णलालले सत्ता गठबन्धनको निकै कम मात्र मत पाएका छन् । आफ्नै दलको उम्मेदवार नभएका कारण सबभन्दा ठूलो दल कांग्रेसका समर्थक तथा शुभेच्छुकलाई मत बदल्न सहज भएको देखिन्छ ।

जबकी प्रेम महर्जनले पाएको मत हेर्दा एमालेले आफ्नो मत निकै हदसम्म जोगाएको देखिन्छ । अनि नयाँ तथा परम्परागत दलप्रति असन्तुष्ट मतदाताको मत घण्टी, लौरो र हलो चुनाव चिन्हमा बाँडियो, जसले उनको जित सहज भयो ।

बाँडियो आक्रोशको मत

यो निर्वाचनमा शहरी क्षेत्रमा परम्परागत दलसँग असन्तुष्ट र नयाँ मतदाताको धेरै मत घन्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै पाएको छ । ललितपुर २ मा पनि रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत पाएका छन् ।

तर लौरो अभियाान नारा लिएको हाम्रो नेपाली पार्टीका डा. सुदिन स्थानीय स्तरमा राम्रो प्रभाव भएका उम्मेदवार थिए । स्थानीय चुनावमा काठमाडौं महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि यही चुनाव चिह्नबाट निर्वाचित भएका थिए । त्यही कारण दर्ता भएको यो दलले लौरो अभियान नारा दिएपनि घन्टी जस्तो लोकप्रिय हुन सकेन ।

तर व्यक्तिगत प्रभाव राम्रो थियो । तलछेंका स्थानीय सुदिन पेशाले दन्त चिकित्सक हुन् । नेशनल डेन्टल हस्पिलटको कार्यकारी निर्देशक भइसकेका उनले पाटनका टोलहरुमा क्लिनिक चलाएर दाँतको उपचार गर्दै आएका छन् । उनले पाएको दोस्रो धेरै मत ८ हजार ८८६ ले पनि उनको लोकप्रियता देखाउँछ ।

लदितपुर २ मा राप्रपाका रघुवर राज थापाले पनि ७ हजार ७९९ मत पाएका छन् । अर्थात नयाँ मतदाताहरुको मत नयाँ दलका उम्मेदवारहरु तिर बाँडियो भने कांग्रेसको मत गठबन्धनका उम्मेदवार महर्जनको साटो अरुतिर गयो । रास्वपा, हाम्रो नेपाली पार्टी र राप्रपा उम्मेदवारले ८ हजार हाराहारी मत पाउँदा एमालेले संगठनको मत जोगाउँदा नै जितका लागि पर्याप्त भयो

प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन पनि गठबन्धन दलहरूबीच इमान्दार सहकार्य हुन नसक्नु र नयाँ दलका उम्मेदवार बाँडिनुले पनि आफूलाई सहज भएको स्वीकार गर्छन् । उनले भने, जनताले नयाँ अनुहार खोजेका छन् भन्ने त मसँग कसको प्रतिस्पर्धा भइरहेको छ भन्ने हेर्दा पनि थाहा हुन्छ ।’

कसरी भयो जित ?

सोमबार बिहान पहिलोपटक सार्वजनिक भएको मत परिणामअनुसार ४ हजार ७८८ मतगणना हुँदा एमाले उम्मेदवार प्रेमले १,३१७ मत ल्याएका थिए । उनलाई पछ्याउँदै सुदिनले १,०९७ मतसहित पछ्याइरहेका थिए । त्यसपछि एकीकृत समाजवादीका उम्मेदवार कृष्णलालले ८७७ मत र रास्वपाका उम्मेदवार बुद्धरत्नले ७९० र राप्रपाका रघुवरले ६७६ मत ल्याएका थिए ।

यो नतिजा सार्वजनिक हुँदासम्म राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव रहेको क्षेत्रको मत गणना भइरहेको थियो । महालक्ष्मी नगरपालिका र ललितपुर महानगरका वडाहरूको मतगणना सँगसँगै भइरहेको हुँदा मत परिणाम मिश्रित आएको थियो ।

त्यसपछि दोस्रोपटक १० हजारभन्दा बढी मतगणना सकिएपछि सार्वजनिक भएको मतअनुसार पनि प्रेमबहादुरले २ हजार ९८० मत ल्याउँदा उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिनले २ हजार ४९७ मतसहित पछ्याइरहेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्नले १ हजार ४९० मत र उनलाई पछ्याउँदै एकीकृत समाजवादीका उम्मेदवार कृष्णलालले १ हजार ४७७ मत ल्याएका थिए । राप्रपाका रघुवरले १,४२६ मत ल्याएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्नको बसोबास र व्यक्तिगत प्रभाव भएको क्षेत्र सानोगाउँ हो । यही क्षेत्रको मत गणना गर्दा उनले एकीकृत समाजवादी र राप्रपा उम्मेदवारलाई उछिने । मध्यान्ह तेस्रोपटक २१ हजार मत गणना सकिएपछि सार्वजनिक भएको मत अनुसार पनि मत परिणामको अनुपात यही छ । एमालेका प्रेमले ५ हजार ७७८ ल्याउँदा हाम्रो नेपाल पार्टीका सुदिनले ४६ सय मत पाए । त्यसपछि राप्रपाका रघुवरले ३,४३४ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्नले ३,२६२ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल भने २,८२८ सय मतसहित पछाडि थिए ।

महालक्ष्मी नगरपालिकाका सानोगाउँ, टीकाथली, लुबु, इमाडोल, लाकुरी भञ्ज्याङ र सांगाथलीलगायत स्थान यो क्षेत्रमा पर्छन् । इमाडोल राप्रपा उम्मेदवार रघुवरको बसोबास र व्यक्तिगत प्रभाव भएको क्षेत्र हो ।

हाम्रो नेपाली पार्टीका सुदिनले नागबाल, धौगल, मंगलबजार, दरबार स्कायर र दहबाललगायतका क्षेत्रबाट राम्रो मत पाएका थिए । एमाले उम्मदेवारसँग मतान्तर घटाएपनि उछिन्न सकेनन् । ललितपुर महानगरको ६, ७, ८, ९ र ११ नम्बर वडामा एमालेको राम्रो प्रभाव छ । त्यहीको मतको बलमा उनले चुनाव जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?