
६ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा कांग्रेस र एमाले गठबन्धनलाई स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले चुनौती दिइरहेका छन् ।
सोमबार दिउँसो १ बजेदेखि सुरु भएको मतगणनामा चापाकल चुनाव चिन्ह पाएका उनले निरन्तर अग्रता बनाएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई २३०० भन्दा बढी मतले पछाडि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार मण्डलले ७ हजार ८१ मत पाएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ४ हजार ६९४ मत ल्याएका छन् । एमाले जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकुमार यादवले ४ हजार ३७२ मत पाएका छन् ।
‘हामीले प्रमुख प्रतिस्पर्धीको रुपमा जसपालाई हेरेका थियौं, तर स्वतन्त्र उम्मेदवार अगाडि देखिए,’ मतगणना स्थलमा भेटिएका माओवादी केन्द्रका एक नेताले भने, ‘नसोचेको मतपरिणाम आइरहेको छ ।’
को हुन मण्डल ?
जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष मण्डल धनपालथान गाउँपालिका २ का बासिन्दा हुन् । उनले २५ वर्षअघि स्थापना गरेकोे जीवन विकास लघुवित्त नाम चलेको वित्तिय संस्था हो, जसको २४जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको छ ।
लघूवित्तमा तीन लाख बढी सदस्य छन् । एक हजार दुई सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यो लघुवित्तको प्रभाव क्षेत्र मोरङ-५ हो । जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालयमा चार वर्षयता पोलिक्लिनिक पनि सञ्चालन भइरहेको छ भने ३०० बेडको सुलभ अस्पताल सञ्चालनका लागि संरचना बनिरहेको छ ।
लघुवित्त क्षेत्रमा सफलता पाएपछि उनी एमालेमा आएका थिए । २०७४ सालको निर्वाचन लगतै उनले यो चुनावलाई लक्षित गरेर मोरङ क्षेत्र नम्बर -५ केन्दि्रत राजनीति सुरु गरेका थिए । तर चुनावको अन्तिम समयमा भएको तालमेलमा एमालेले यो क्षेत्र जसपालाई छाड्यो । योगेन्द्रले स्वतन्त्र उम्मेदवारी दिए ।
चुनावी अभियानमा जीवन विकासका लघुवित्तका सदस्य र सहयोगीहरु जोडिएका थिए । प्रमुख दलहरुसँग असन्तुष्ट कार्यकर्ता पनि उनीसँग उभिए ।
जीवन विकास लघुवित्त सुरु गर्नुअघि मण्डलले दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाएका थिए । तत्कालिन अमाहीवरियाती गाबिस (हाल धनपालथान गाउँपालिका २) मा २०५२ देखि २०५४ सालसम्म ट्यसन पढाएका कारण उनलाई स्थानीयले ‘जोगी सर’को उपनाम दिएका थिए ।’जीवन विकास मार्फत काम गर्दा हामीले केही क्षेत्रमा मात्रै परिवर्तन ल्याउन सक्छौं भन्ने बुझेँ,’ केही दिन अघि उनले अनलाइनखबरसँग भनेका थिए, ‘देशको परिवर्तनका लागि हामी जस्ता मानिसहरु राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो ।’
प्रतिक्रिया 4