+
+

टीकापुरबाट फैलिएको रेशम चौधरीको नागरिक उन्मुक्ति

सागर चन्द सागर चन्द
२०७९ मंसिर ६ गते १५:०१

६ मंसिर, काठमाडौं । कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले बलिया प्रतिस्पर्धी पञ्छ्याउँदै प्रतिनिधिसभा सदस्य जितेका छन् । २३ हजार १२० मत ल्याएर गंगारामले जित्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी बने । कृष्णकुमारले १७ हजार ७४९ मत पाएका छन् ।

०७४ को चुनाव जितेका गौरीशंकर चौधरी यसपटक प्रतिस्पर्धामै आउन सकेनन् । नेकपा एमालेबाट उम्मेदवार रहेका पूर्वमन्त्री गौरीशंकरले ९ हजार ८७४ मत ल्याए । यसपटक उनको प्रतिस्पर्धा तेस्रो स्थानका लागि राप्रपाका वीरेन्द्रबहादुर बमसँग भयो । बमले ७ हजार ४७ मत ल्याएका छन् ।

जबकी यो क्षेत्र माओवादी केन्द्रको राम्रै पकड भएको क्षेत्र हो । ०७४ मा वाम गठबन्धन हुँदा मोआवादी केन्द्रलाई छोडिएको यो क्षेत्र यसपटक कांग्रेस नेतृत्वको गठबन्धनले पनि उसैलाई दिएको थियो । अघिल्लोपटक चुनाव जितेका गौरीशंकर एमालेतिर लागेकाले माओवादीले कृष्णकुमारलाई उम्मेदवार बनाएको थियो ।

तर कृष्णकुमार र गौरीशंकरलाई हराउँदै नागरिक उन्मुक्तिका गंगारामले जितेका छन् । यो जितसँगै टीकापुर क्षेत्रमा रहेको नागरिक उन्मुक्तिको प्रभाव अन्यत्र फैलन पुगेको छ । ०७२ को टीकापुर घटनापछि कैलाली–१ रेशम चौधरीको प्रभाव क्षेत्र बन्न पुगेको थियो ।

०७४ मा फरार अवस्थामै रेशमले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यो क्षेत्रबाट फराकिलो अन्तरले जितेका थिए । तर टीकापुर घटनाका दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनलाई आजीवन काराबासको सजाय सुनायो । पूरा कार्यकाल रेशमको काराबारमै बितेको छ ।

तर उनी संरक्षक रहेर गएको वर्ष मात्रै नागरिक उन्मुक्ति पार्टी बनेको छ । पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेर बनेको नागरिक उन्मुक्तिले गएको स्थानीय चुनावमै टीकापुर नगरपालिकासहित चार पालिका जितेर कैलालीकै पहिलो दल बन्न सफल भएको थियो ।

स्थानीय चुनावको नतिजाबाट उत्साहित नागरिक उन्मुक्तिले यसपटक ३८ क्षेत्रमा उम्मेदवार बनाएको थियो । त्यसमध्ये कैलाली–३ मा गंगारामले जितिसकेका छन् भने कैलाली–१ मा रञ्जिताले अग्रता लिइरहेकी छन् ।

रञ्जिताले ६ हजार ५७९ मत पाउँदा कांग्रेसका रामजनम चौधरीले ४ हजार २६० मत सहित पछ्याइरहेका छन् । नागरिक उन्मुक्तिले यो क्षेत्रमा सजिलै जित्ने दावी गरिरहेको छ ।

टीकापुरको पूर्वी क्षेत्र बर्दिया–१ र २ मा पनि नागरिक उन्मुक्तिको अग्रता छ । कैलाली–२ मा पनि नागरिक उन्मुक्तिकै अग्रता छ । कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरीले १६ सय ६० मत सहित अग्रता लिइरहेका छन् । उनलाई माओवादीका भगवतबहादुर बडुवालले १२ सय ६९ मत सहित पछ्याइरहेका छन् ।

बर्दिया–१ मा उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले ५ हजार ४ सय २९ मत पाउँदा कांग्रेसका सञ्जयकुमार गौतमले ४ हजार ८ सय १९ मत पाएका छन् । सञ्जयले अघिल्लो चुनावमा वामदेव गौतमलाई पराजित गरेका थिए । तर यसपटक नागरिक उन्मुक्तिसँग सञ्जयले प्रतिस्पर्धा गर्नुपरेको छ ।

बर्दिया–२ रेशमकै बुवा लालवीरले अग्रता लिइरहेका छन् । रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्तिले स्वतन्त्र उम्मेदवार बनेका उनको बुवा लालवीरलाई समर्थन गरेको थियो ।

लालवीरले १६ हजार ४५८ मत पाउँदा माओवादी केन्द्रका सुरेश पन्थले १० हजार ८ सय ९३ मत पाएका छन् । लालवीरको अग्रता फराकिलो बन्दै गएको छ । ०७४ मा लालवीर कैलाली–१ कै प्रदेशसभामा एमालेका उम्मेदवार थिए । तर रेसमले पार्टी खोलेपछि उनले एमाले छोडेका थिए ।

ढकिया चुनाव चिह्न रहेको नागरिक उन्मुक्तिका अन्य उम्मेदवारहरुले पनि राम्रै मत पाइरहेका छन् । समानुपातिक तर्फ पनि नागरिक उन्मुक्तिले उत्साहजनक मत पाइरहेको छ । अढाइ लाख गणना हुँदा नागरिक उन्मुक्तिले ३,७७६ मत पाएका छन् । नागरिक उन्मुक्तिले पाएको मत नेकपा एकीकृत समाजवादीको भन्दा धेरै हो ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?