
६ मंसिर, धरान । धरान उपमहानर पालिकाको पाँच वटा गणनाको गणना सकिदा प्रमुख दलहरुले अपेक्षित नतिजा ल्याउन सकेको छैन ।
सुनसरी–१ मा पर्ने यो क्षेत्रबाट नेकपा एमालेबाट विद्रोह गरेका मनोज मेन्याङ्बो, नेपाली कांग्रेस छोडेर राप्रपाका उम्मेदवार बनेका अशोककुमार राई अविरल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ शरिनले प्रतिस्पर्धी मत पाएका छन् ।
८ हजार ४३६ मत गन्दा अग्रता भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले १ हजार ८९८ मतसहित अग्रता बनाएका छन् । उनलाई एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका अशोक राईले पछ्याइरहेका छन् । राईले १ हजार ५६८ मत पाएका छन् ।
बाँकी मत भने राप्रपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले पाएका छन् । एमालेका विद्रोही मनोजले १ हजार २०२ मत पाएका छन् भने कांग्रेस त्यागेर राप्रपाका उम्मेदवार बनेका अविरलले १ हजार १११ मत पाएका छन् । भर्खरै घण्टी चिन्ह लिएर खुलेको रास्वपाकी शरिनले एक हजार पाँच सय मत ल्याएका छन् ।
यस्तो प्रारम्भिक नतिजापछि दलहरुबीच अन्तर्घातको आरोप चल्न थालेको छ । गएको स्थानीय चुनावमा गणना भएका पाँच वडाबाट सत्ता गठबन्धनले ५ हजार ८५० पाएको थियो । तर मुक्सामहाङले त्यो मतको २० प्रतिशत हाराहारी मात्रै पाएका छन् ।
एमालेतिर पनि त्यस्तै अवस्था देखिएको छ । यी वडाहरुबाट एमालेले ३ हजार ६०५ मत ल्याएको थियो । तर अशोक राईले त्यसको आधा मात्रै मत पाएका छन् । तर राप्रपाले भने स्थानीय चुनावमा पाएको भन्दा राम्रो मत पाएको छ । यी वडाहरुबाट राप्रपाले स्थानीय चुनावमा ७८६ मत पाएको थियो । तर अहिले त्यो भन्दा धेरै मत पाइरहेको छ ।
प्रतिक्रिया 4