
७ मंसिर, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ । नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
रमेशले ९४७१ मत पाउँदा रुपेशले ६ हजार ८३४ मत ल्याएका छन् । रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो । एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका भतिज रुपेश जसपाबाट प्रदेश सभा सदस्यमा उठ्न चाहान्थे । तर एमालेसँग गठबन्धन गर्दा यो क्षेत्र एमालेको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
राप्रपाका प्रमानन्द साह कानुले २८३६ मत पाउँदा जसपा छोडेर स्वतन्त्र उम्मेदवारी दिएका करिमा बेगमले १५०१ मत र मुकेश कुमार द्विवेदीले ७९२ पाएका छन् ।
०७४ को निर्वाचनमा नेपाली काँग्रेसका रामरुप कुर्मीलाई पराजित गरेर रमेश प्रदेश सभा सदस्य बनेका थिए । रमेशले ९ हजार ७०६ मत ल्याउँदा रामरुपले ७६६२ मत पाएका थिए ।
प्रतिक्रिया 4