
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सोविता गौतमलाई बधाई दिएकी छिन् ।
नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख समेत रहेकी घर्तीले यही क्षेत्रबाट राजनीतिमा सक्रिय रहने बताएकी छिन् । ‘मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएँ कि काठमाण्डौं क्षेत्र नम्बर-२ मेरो कर्मथलो भइसक्यो,’ उनले बुधबार फेसबुकमार्फत् भनेकी छिन्, ‘आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु ।’
आवधिक निर्वाचनमा एकपटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने उनको तर्क छ ।
गौतम १५ हजार २२९ मतसहित निर्वाचित हुँदा घर्ती ९ हजार ४४९ मतसहित चौथो स्थानमा सीमित भइन् । एमालेका मणिराम फुयाल ११ हजार ५५५ मतसहित निकटतम् प्रतिद्वन्द्वी बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११ हजार १४ मतसहित तेस्रो स्थानमा पुगिन् ।
प्रतिक्रिया 4