+
+
वार्ता :

‘स्वतन्त्र पार्टीसँग डराउनुपर्दैन, गल्ती गरे जनताले फु गरेर उडाउँछन्’

नयाँ पार्टीसँग कोही डराउनुपर्दैन । लोकतन्त्रमा दायाँ–बायाँ गर्‍यो भने नेपाली समाजले पुल्पुल्याएर केही समयसम्म राख्न सक्लान् तर, लोकतन्त्रमाथि घात नै गर्ने हो भने जनताले फु गरेर उडाउन सक्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २१:२२

७ मंसिर, काठमाडौं । जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँदिल्लीबाट राजनीतिक समाजशास्त्रमा विद्यावारिधि गरेका डा. दिनेश प्रसाई अक्सर पोखरामा हुन्छन् ।

वैकल्पिक राजनीतिको बारेमा लामो समयदेखि चासो र सरोकार राखिरहेका प्रसाईले स्वतन्त्र पार्टीले यसपल्ट ल्याएको मत र त्यसका सम्भावनाहरूबारे अनलाइनखबरसँग अन्तर्वार्ता दिएका छन् । प्रसाईसँग बसन्त बस्नेतले गरेको कुराकानी :

चुनावी परिणामलाई कसरी हेर्नुभयो ?

नेपाली समाज र राजनीतिको तारतम्य मिलेको छैन । विशेष गरी नेपाली समाजमा अहिले युवाहरूको संख्या बढिरहेको छ । युवाहरूको इच्छा–आकांक्षा स्वाभाविक रूपले नयाँ हुने नै भए । तर, हाम्रा राजनैतिक दलहरू भने एकदमै पुरातन प्रवृत्तिका छन् । राजनैतिक रूपले उहाँहरूको शिक्षा पनि निकै पुरानो हो ।

उनीहरूले आफ्नो राजनीतिलाई सैद्धान्तिक हिसाबले आधुनिक बनाउन सकिरहेका छैनन् । राजनैतिक दलहरूले नयाँ प्रविधिसँग आफूलाई अवगत गराउन सकिरहेका छैनन् । पुराना राजनैतिक नेतृत्वले लामो समयदेखि चुनाव जित्दै आएका छन् र अहिले पनि जितिरहेकै छन् । तर, समाज अर्कैतिर गइरहेको छ । नेपाल एउटा विविधतायुक्त समाज, खुल्ला समाज हो ।

दक्षिण एसियाली समाजहरूमध्येमा सबैभन्दा खुल्ला समाजमा नेपाल छ । यहाँ युवा मात्र हैन विभिन्न जातजाति, संस्कार, संस्कृति, भेगमा बस्ने युवाको इच्छा–आकांक्षा र राजनीतिबीचमा लामो समयदेखि तालमेल भइरहेको थिएन ।

त्यसैले यस पटकको निर्वाचनमा तुलनात्मक रूपमा युवाहरूको राम्रो हस्तक्षेप रह्यो । जब युवाहरूले राजनीतिमा सम्पूर्ण रूपमा हस्तक्षेप गर्छन् त्यसले राजनीतिमा राम्रो परिवर्तन ल्याउँछ । त्यसको सुरुवात यस पटकको निर्वाचनबाट भइसकेको छ ।

यसभन्दा पहिले पनि केही वैकल्पिक पार्टीहरू खुलेका थिए । स्वतन्त्र उम्मेदवार पनि उठेका थिए । तर, यसले ठोस स्वरूप प्राप्त गर्नको लागि यस पटकको निर्वाचन किन कुर्नुपर्‍यो ?

उज्ज्वल थापाले कुकुर चुनाव चिह्न लिएर चुनावमा लडेको दोस्रो संविधानसभामा हो । त्यस बेला जम्मा चार जना युवा चुनावमा भाग लिएका थिए । सबैले उनीहरूलाई हाँसोको पात्र बनाएका थिए । कुनै पनि नयाँ कुराको सुरुवात हुँदा मानिसहरूले त्यसको खिल्ली उडाउँछन्, वास्ता गर्दैनन् । त्यसले केही समय पनि लिन्छ ।

थापाले केही दर्जन युवालाई राजनीतितर्फ आकर्षित गराए । यदि हाम्रो इच्छा–आकांक्षा यो सिस्टमले पूरा भएका छैनन् भने हामी लड्नुपर्छ, सिस्टमलाई चुनौती दिनुपर्छ भन्ने सन्देश दिए ।

त्यो सन्देश निरन्तर रूपमा समाजमा सानो स्वरमा भए पनि गुन्जिरह्यो । यस पटक धेरै युवाले अब त अति भयो हाम्रो इच्छा पूरा गर्न नेतृत्व पनि चाहिंदोरहेछ भनेर अघि बढे । यसमा महत्वपूर्ण भूमिका रवि लामिछानेको रह्यो ।

धेरै युवा राजनैतिक नेतृत्वबाट वाक्क नै भएर के विकल्प हुन सक्छ भनेर कुरिरहेका थिए । संसारमा त्यस्तो कुनै पनि देश छैन होला जहाँ एउटा असफल प्रधानमन्त्री पटक–पटक प्रधानमन्त्री हुन लालायित हुन्छ, प्रधानमन्त्रीको आकांक्षी हुन्छ र भइपनि रहेको छ ।

नेपालमा शीर्ष नेतृत्वहरू जो छन् केही सत्तामा छन् केही प्रतिपक्षमा । तर, आम नेपालीको नजरमा खासै ठूला पार्टीहरूमध्ये प्रतिपक्ष कोही छैन । सबै पालो कुरेर बसिरहेका छन् । घुमाई–फिराई सबै संस्थापन नै हुन् । तर, त्यो कति वर्षसम्म चल्ने !

यो चलेर पनि नेपालले विकासमा फड्को मारेको भए ठिकै छ भन्थे होला जनताले । तर, एकातिर नेतृत्वले आफ्नो पद पनि नछोड्ने, अर्कोतिर विकास गर्न पनि नसक्ने । एक पटक मात्र हैन पटक–पटक लगभग ३० वर्षभन्दा बढी यसरी बितिसक्यो ।

युवाहरू भनेको ऊर्जावान् गतिशील हुन्छन् उनीहरूको इच्छा–आकांक्षा बदलिरहन्छन् किनभने उनीहरूले संसारलाई नियालिरहेका हुन्छन् । मेरो भविष्य कस्तो हुन्छ भन्ने चिन्ता हुन्छ उनीहरूलाई । तर, उनीहरूको भविष्य कस्तो होला भन्ने कुरा त कतै पनि चासोको विषय छैन ।

को शक्तिमा जाने, कसरी आफूलाई बलियो बनाउने भन्ने विषयमा मात्र राजनैतिक नेताहरू केन्द्रित भए । युवाहरूको मुद्दालाई कसैले पनि चासो दिएका छैनन् त्यसैले पार्टीहरूप्रति असन्तुष्ट भए ।

हामी हरेक महिना ठूला–ठूला भ्रष्टाचारका कुरा सुन्छौं जसले युवालाई निराश बनाउँछ । त्यो निराशाको बीचमा राजनैतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेले देशमा सुशासन ल्याउँछु र भ्रष्टाचारको विरोध गर्छु भने त्यसमा युवाहरूले आशा देखे ।

आम मान्छेलाई सडक, शिक्षा, स्वास्थ्य, पानी र सामाजिक सुरक्षा कस्तो छ भनेर चासोको विषय हुने नै भयो । तर, एउटा राजनैतिक दलले यत्ति कुरा मात्र भनेर नेपाल जस्तो देशमा लामो समयसम्म टिक्न भने सक्दैनन् ।

किनभने राजनैतिक दर्शन के हो त्यसलाई तपाईंले अगाडि ल्याउनुपर्छ । दिनदिनै त्यसको बारेमा मात्रै चर्चा गर्नुपर्छ नीतिको बारेमा चर्चा गर्नुहुँदैन भन्ने होइन । तर, पछाडि राजनैतिक दर्शन भनेको मैले व्यक्ति, समाज र राष्ट्रको सम्बन्ध कस्तो देख्छु भन्ने कुरामा प्रष्ट हुनुपर्छ ।

नेपालमा अझै पनि सैद्धान्तिक बहसहरू हुन्छ र हुनु पनि पर्छ । लोकतन्त्रलाई कसरी हेर्ने, जनताका छोराछोरीहरू चुनिएर राष्ट्रपति हुन पाउने कि पुरानै राजा नीति राजाको जेठो छोरा भएको हुनाले राष्ट्राध्यक्ष हुन पाउने भन्ने मान्यता जब बहसमा छिर्न पाउँछ त्यस बेला सैद्धान्तिक बहसले ठाउँ पाउनुपर्छ ।

कतिपयले त्यो नरम दक्षिणपन्थी धारलाई अब रवि लामिछानेले प्रतिनिधित्व गर्ने ठानेका छन् । तपाईं त्यो सम्भावना देख्नुहुन्छ ?

कुनै पनि समाजमा प्रमुख रूपमा तीन धार हुन्छन् । एउटा संकुचित शक्ति हिजोकै सबै कुरा ठिक थियो भन्ने र एउटा शक्तिको व्यक्तिले भनेको अर्कोले सजिलै मान्ने चलन थियो अब त्यसैतर्फ फर्कनुपर्छ भन्ने त्यस्तो शक्ति जुन समाजमा पनि एउटा भेटिन्छ ।

अर्को कुनै पनि क्रान्तिले पुग्दैन, लोकतन्त्रले पनि पुग्दैन सर्वहारा वर्गको पतन नै हुनुपर्छ, साम्राज्यवादीहरू सबैलाई हराउनुपर्छ भन्ने हुन्छ । अर्को भने लोकतन्त्रलाई माया गर्ने खालको शक्ति ।

यी तीन वटा शक्तिको बीचमा समय–समयमा अन्तर्राष्ट्रिय रीतिस्थिति हेरेर र आन्तरिक कुरालाई पनि मध्यनजर गरेर यी तीन शक्ति बीचमा राजनैतिक रूपमा खिचातानी भइरहन्छ । नेपालमा अहिले हेर्दा संकुचित शक्ति कमजोर भएको देखियो ।

माओवादी पनि अहिले नराम्ररी हारी रहेको छ । एमालेलाई वामपन्थी भन्नुहुन्छ कि हुन्न, यसलाई कसरी हेर्ने भन्ने कुरालाई हामीले विचार नै गर्नुपर्छ । नेपालमा केही समयअघिसम्म सबै शक्ति हत्याएर केन्द्रीकृत गरेर बसेको एउटा शक्ति छ । तर अन्तिममा बीचको शक्तिमा नै समाज रहन्छ । आम रूपमा हाम्रो खुल्ला समाज छ यहाँ बसाइँसराइ भइरहन्छ । अर्को पक्षलाई स्वीकार गर्ने, त्योसँग घुलमिल हुने खालको छ ।

विभिन्न शक्तिलाई आन्तरिक गरेर पार्टीका संवादहरूलाई समावेश गरेर बहसमा ल्यायो भने नयाँ शक्तिले पछिसम्म राम्रो गर्छ । हामी पुरानै शैलीतिर जान्छौं भनेर भुलुक्क उम्लियो भने फेरि नेपाली समाजले अर्को विकल्प खोज्छ ।

समाज र राजनैतिक शक्तिबीचको जुन दूरी औंल्याउनुभयो ती पार्टीहरू अहिले पनि छन् । त्यसै खाले दूरी अहिले बन्दै गरेको पार्टीमा पनि हुनसक्छ भन्नुभएको हो ?

नयाँ पार्टी र समाजमा पनि दूरी भयो भने त्यति चिन्तित हुनुपर्दैन अन्तिममा गएर नेपाली समाज लोकतन्त्रमा समाहित हुन्छ । लोकतन्त्र भित्रै समस्या छन् भने केही नेताहरूलाई जनताले बदल्छन् । तर, सिस्टम नै उल्ट्याउँछु भनेर कोही आयो भने समाजले फेरि उसलाई ठिक ठाउँमा पुर्‍याउँछ ।

यो चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले पाएको मतलाई कसरी हेर्नुभएको छ ?

नेपाली कांग्रेस त नेपालको सबैभन्दा ठूलो पार्टी, ठूला–ठूला आन्दोलनको नेतृत्व गरेको पार्टी, आम निर्वाचनमै पनि बहुमत ल्याएको पार्टी अहिले यति धेरै खुम्चनु भनेको त उहाँहरूको नेतृत्व राम्रो भएन भन्ने कुरा सबैले बुझे । प्रत्यक्षमा यसले सबैभन्दा धेरै ठाउँबाट पनि जित्ला तर, यसको अर्थ के रह्यो भने कांग्रेसको आकार खुम्चिएको छ ।

एमालेको पनि अवस्था त्यही हो । गत निर्वाचनमा लगभग दुई तिहाइ मत ल्याएको पार्टी संघ, प्रदेश र स्थानीयमा एकछत्र छाएको पार्टी अहिले समानुपातिकमा त हामीले केही बढी मत ल्याएका छौं भनेर चित्त बुझाएर बस्नु परेको छ ।

अघिल्लो पटक जस्तै यो पटक पनि दुई तिहाइ मत आयो देख्यौ भन्दा पो ठूलो हुन्थ्यो त ! ९०, ९५ नम्बर ल्याउने विद्यार्थीले मैले त ३३ ल्याए नि त ग्रेस दिन मिल्नेसम्म त पुगे नि भन्नु भनेको त फेल भए जत्तिकै हो नि !

माओवादी पनि नेपालको एउटा ठूलो शक्ति हो । पहिलो संविधानसभामा त माओवादीलाई अहिले रवि लामिछानेलाई जस्तै अनुमोदन गरेको हो । खुल्ला हृदयले हत्या–हिंसाको कुरालाई माफ गरेर अघि बढ भनेर बहुदलीय प्रतिस्पर्धा स्वीकारेर, एजेन्डा स्वीकारेर अघि बढायो । तर, त्यो साथलाई माओवादीले बचाएर राख्न सकेन ।

उनीहरू भ्रष्टाचारमा सहभागी भए त्यसपछि पनि जनताले धेरै अवसरहरू दिइरहेका छन् । एक वर्षयता पनि उहाँहरू सत्तामा नै हुनुहुन्छ तैपनि उहाँहरूले आफ्नो अस्तित्व जोगाउन सक्नुभएन । त्यो जोगाउन नसकेपछि जनता विकल्प खोज्न लागे ।

कांग्रेस, एमाले र माओवादी सबैले भ्रष्टाचार गरेका छन् । तर, कांग्रेस र एमालेलाई जनताले माओवादीलाई जस्तो सजाय किन दिएनन् भने जनताले तिमी पनि भ्रष्ट हौ तर भ्रष्टाचार गर्न त्यत्रो हत्या, हिंसा र विस्थापन गरेका छैनौ भनेर हो । नेपाली समाजले दिएको बलिदान र माओवादीले गरेको वाचा पूरा गर्न नसकेको बीच ठूलो ग्याप अरू पार्टीको भन्दा ठूलो भयो ।

गाउँ–गाउँमा हाम्रो पकड छ, कसैले छुन सक्दैन भन्ने ठूला शक्तिको भ्रमलाई रवि लामिछानेले तोडेका छन् । ८० प्रतिशत जति कब्जा गरेको दावी गर्दै आएको क्षेत्र पनि रवि लामिछाने र अरू शक्तिहरूले यसपटक खाइदिए ।

माओवादीले जुन आधारले स्थान ओगटेको थियो त्यो अब छैन ?

माओवादीले जुन स्थान ओगटेको थियो, त्यो अहिले देखिएन । माओवादीको प्रत्यागमन हुन अब कठिन छ । माओवादीले मात्र हैन एकीकृत समाजवादी पार्टीहरूले पनि धेरै हदसम्म गुमाए ।

समानुपातिकको कुरा गर्ने हो भने त्यहाँ पनि उहाँहरूको अवस्था चिन्ताजनक नै देखिन्छ । अरू साना पार्टी र उनमुक्ति पार्टी भन्दा पनि कम हुन्छ कि भन्ने आकलन गर्न सकिन्छ ।

राप्रपा पहिलेभन्दा संगठित हुँदै गएको हो ? कि व्यक्ति हेरेर मत आएको हो ?

नेपालमा यो कन्जरभेटिभ फोर्स छ जुन हामीले स्वीकार्नुपर्छ । त्यसलाई पुरानो शक्तिले त्यति मुखरित गर्न सकेको देखिंदैन । बेलाबखतमा उतारचढाव देखिन्छ । एकपटक त एक भोट दाइलाई एक भोट गाईलाई भनेर समानुपातिकमा राम्रै सिट ल्याउनुभएको थियो ।

त्यो जनमत निर्णायक नै हुन्छ जस्तो मलाई लाग्दैन । तर, पनि यो कतै न कतै छ । जसलाई राजेन्द्र लिङ्देनको नेतृत्वले भ्रष्टाचार विरुद्ध छवि बनाएका छन् त्यसले पनि हुनसक्छ ।

उसो भए यो केवल राजाप्रति अनुरक्त भीड होइन ?

यसमा दुईवटा आधार देखिन्छ । एउटा हिन्दु धर्म र अर्को राजतन्त्रको लागि । यसमा मत बाझिएको देखिन्छ । तर सबै हिन्दु धर्म चाहनेहरूले राजतन्त्र चाहन्छन् भन्ने पनि छैन । सबै राजतन्त्र चाहनेले हिन्दु धर्म चाहेको भन्ने पनि छैन । गैरहिन्दुहरूले राजतन्त्र चाहेका पनि छन् नि !

राजतन्त्र र हिन्दुत्वले मात्र भनेर नपुगेर अब सुशासन दिलाउँछौं भन्दै भ्रष्टाचारको विरोध गर्नु परेको हो उनीहरूले ?

त्यो पनि देखिन्छ । तर, समाजमा जहिले पनि कन्जरभेटिभ फोर्स रहिरहन्छ ।

नेपालको परम्परावादी शक्तिलाई राप्रपाले आफूसँग एकट्ठा गरेर राख्न सक्ला कि अर्को शक्तिमा त्यो जनमत जाला ?

आम जनमत हिन्दु धर्म मान्छन् । जसले गर्दा धर्मको राजनीति गर्न सकिन्छ । उच्च जातीय पहाडेहरूले जे मनपराउँछन् त्यो बोक्यो भने धेरै नागरिकले भोट दिन्छन् भनेर त्यो लागेपछि त्यहाँ प्रतिस्पर्धा हुन्छ । त्यसमा रापप्रादेखि एमालेका केपी शर्मा ओली पनि लागेका हुन् ।

त्यसमा रवि लामिछानेले पनि प्रतिस्पर्धा गर्न सक्छन् । अन्य दलले पनि सक्छन् । त्यसलाई अन्यथा लिनुहुँदैन । तर गर्छन् कि गर्दैनन् भन्दा पनि लोकतन्त्रलाई सबैले ग्रान्टेडको रुपमा हेर्ने गर्छौं । जहिले यस्तै हो यसको विरुद्ध को जाला र ? भन्ने हुन्छ ।

अमेरिकामा पूर्व डोनाल्ड ट्रम्पले पनि लोकतन्त्र ध्वस्त पार्न खोजेका हुन् । पछि अरू पार्टीले जोगाउन लागिपरेका थिए । झन् नेपाल जस्तो सानो देशमा त मध्यमार्गी शक्तिहरूले टेक अफ दि ग्रान्टेड गर्नुहुँदैन ।

लोकतन्त्र भनेको कामकाजी बनाउन सक्छौं । सुशासन दिन सक्छौं । विकास गर्न सकिन्छ भन्ने कुरा छर्लंग हुने गरी आम जनताले बुझ्ने गरी पस्किनुपर्छ । नत्र भने खतरा सधैं नै भैरहन्छ । लोकतन्त्रलाई ग्रान्टेड लिन हुँदैन ।

रवीन्द्र मिश्र नयाँ शक्ति बनाउँछु भनेर जोडदारसँग लाग्नुभएको थियो तर उहाँले विचारभन्दा माथि देश र मार्ग परिवर्तनका लागि ५ वटा प्रस्ताव भनेर ल्याउनुभयो र राप्रपामा जानुभयो ! अहिले दोस्रोपटक चुनावमा पराजित भए । यो प्रकरणलाई कसरी हेर्नुभएको छ ?

मिश्रले वैकल्पिक राजनीतिमा भष्मासुर प्रवृत्ति निम्त्याउनुभयो । पहिला साझा पार्टी भन्नुभयो, राजतन्त्रको कुरा थिएन । व्यवस्था भन्दा अवस्था मान्छौं र संविधानका कुराहरू मान्छौं भनेर साझा पार्टी बनाए ।

पछि विवेकशील पार्टी जुन सुरुवाती चरणमा थियो युवाहरूलाई मिलाएर लिएर गएर उज्ज्वल थापाहरूलाई कारबाही गराएर पार्टी छिन्नभिन्न बनाइदिनुभयो । भएको विवेकशील पार्टी छिन्नभिन्न नै भयो । बाँकी रह्यो, साझापार्टी । जो जो बाँकी थिए त्यही छुटेर गएका थिए पछि उनीहरूलाई नै बोलाउनुभयो ।

जसमा रन्जु दर्शना, मिलन पाण्डे राजनीतिक भविष्य भएका युवाहरूलाई बोलाएर टुटाउनुभयो । फेरि साझा पार्टी भन्नुभयो । त्यहाँ पनि विवाद ल्याउनुभयो । त्यो गर्दागर्दै अहिले हलो भन्नुभयो । योभन्दा राजनीतिक बेइमानी केही हुन सक्दैन । राजावादी हुन पाउँछ । राजेन्द्र लिङ्देन हुँदा कसलाई के समस्या छ र ? उसले ढाँटेको छैन । राजनीतिमा इमानदारी हुनुपर्छ ।

तथ्य बदलिदियो त्यसैले म बदलिएँ भन्नुभयो नि मिश्रले ?

कुरा र कुलो जता पनि लगिन्छ । दुई अक्षर पढेका मानिस अहिले नेपालमा जति पनि छन् । तर एक किसिमको सामान्य एउटा न्यूनतम राजनीतिप्रति इमानदारी त हुनुपर्छ । त्यो उहाँले देखाउन सक्नुभएन । भएका जति युवालाई लगेर लोकतन्त्रलाई बलियो बनाउने भनेर लाग्ने ।

कालान्तरमा गएर लोकतन्त्रप्रति वितृष्णा जगाउने काम गर्दै लगेर पछि यो परिवर्तन पनि ठीक छैन भनेर जानु बेइमानी हो । त्यो उहाँको व्यक्तिगत अधिकार हो । तर राजनीतिक रूपले हेर्दा त्यो ठूलो बेइमानी हो । पहिला पार्टीलाई छिन्नभिन्न पार्नुभयो अब राप्रपालाई के गर्नुहुन्छ म भन्न सक्दिनँ ।

नागरिक उन्मुक्ति पार्टीको उदयलाई कसरी लिनुभएको छ ?

नेपालको एकदमै अन्यायमा परेको जाति हो थारू । नयाँ संविधानको एउटा अपेक्षा उनीहरूलाई पनि छ । समावेशीका कुराहरू छन् । उनीहरूले योगदान पनि दिएका छन् । माओवादीतर्फ लागेर धेरै थारू बेपत्ता भए । धेरै विस्थापित भए । उनीहरूको ठूलो अपेक्षा थियो । म सन्तुष्ट छु भने हरेक थारू सन्तुष्ट हुन्छन् भन्ने छैन ।

मेरो मनमा स्थिरताको लागि थारू, दलित र मधेशीहरूलाई चित्त नबुझ्न त पाउनु पर्‍यो नि ! त्यसलाई हेर्दा उनीहरूको मुद्दा सम्बोधन भएन । प्रहरीहरू पनि मारिए । थारूहरूको बुझाइमा कस्तो भयो भने राणाहरूले शासन गर्दा आर्मीहरू मारिएका थिएनन् र ! अहिलेको एमालेले पनि २७/२८ वर्ष अघि हत्या हिंसाको राजनीति गरेको हैन र ! माओवादीले त्यसरी गरेर आयो ।

उपेन्द्र यादवको पनि त्यही छ । हामीलाई चाहिं किन अरू राजनीतिक दल जसरी हेरिएन । हाम्रो मुद्दा समेटिएको थिएन । हामीहरूलाई र अरू दललाई हेर्ने दृष्टिकोण फरक भयो भन्ने उहाँहरूको चित्तदुखाइ देखिन्छ । त्यो अभिव्यक्त हो । जुन ठूला पार्टीहरूले हेर्दैनन् । कांग्रेस, एमाले, माओवादीहरू अखण्ड भएर बसेका छन् ।

अखण्डहरू आफैं शक्तिशाली छन् । सुदूरपश्चिममा गएर उनीहरूविरुद्ध खडा हुन सकिंदैन भन्ने भयो । थारूहरूको चाहिं हाम्रो सम्बोधन गर्ने को त कहाँ त भन्ने भयो भने सेन्टिमेट रहेछ भन्ने बुझ्नुपर्‍यो । त्यसैले कतै नलागेर सानो आफ्नो स्थानीय पार्टी बनाउनुभएको छ । राम्रो काम गरिरहनुभएको छ ।

उहाँहरूले सामुदायिक भावनालाई प्रतिनिधित्व गर्ने पार्टी बनाइराख्नुभएको छ । राष्ट्रिय राजनीतिले के प्रभाव पार्छ भनेर भन्न अहिले नै त कठिन होला नि ?

स्थानीय प्रभाव त छ नि ! मनोविज्ञान छरिदियो । जुन लोकतन्त्रको सुन्दर पक्ष हो । नेपालको अहिलेको जमानामा एउटालाई मात्र भाषीय बनाएर यहाँको बहुमतलाई मात्र मनपर्ने भाषीय बनाएर उनीहरूको मनोविज्ञानलाई मात्र सम्बोधन गरेर अरूलाई लाखापाखा लगाएर अरूको कुराहरूलाई राष्ट्रिय विरोधी भनेर चल्नेवाला छैन ।

मधेशका पुराना शक्तिका ठाउँमा सिके राउत आए । जनमत पार्टीको उपस्थिति कस्तो हो ?

आन्दोलनबाट आउने वित्तिकै संस्थापक हुन खोज्ने, संस्थापनमै जान खोज्ने, नियम–कानुन नलाग्ने, हाम्रो पनि पालो आयो, हामी पनि मिलिजुली खाऊँ भनेर पटक–पटक देखाउनुभएको छ । मधेशी जनताले पनि यो शक्तिलाई पटक–पटक सपोर्ट गरेका छन् । त्यसलाई ग्रान्टेड लिनुभएन । त्यसले फेरि नयाँ शक्तिलाई जन्म दिने गर्छ ।

आन्दोलन गर्नुभयो त्यो ठिक छ । नेतृत्वमा जानुभयो । जनताले अनुमोदन गरे त्यो ठिक छ । त्यहाँ गइसकेपछि विशेषगरी नयाँ–नयाँ युवाहरू आकांक्षा बोकेर गएका हुन्छन् उनीहरूलाई प्रेसर हुन्छ । कसरी पढाउने, सकाउने ।

त्यस्तै, ठ्याक्कै कुनै पार्टीले चाहिं देखिने गरी अनुभूति हुने गरी आकांक्षालाई सम्बोधन गरेको छ वा छैन भनेर आम युवाले हेर्ने भए । त्यो उनीहरूलाई बेवास्ता गरेर शक्ति भएकाहरूसँग मात्र उठबस र हिंडडुल गर्ने र भ्रष्टाचार गर्न थाल्नुभयो अघि–पछि पुलिस लिएर हिंड्यो भने जनताले के बुझ्ने ।

उसले त नयाँ नै स्वाभाविक रूपले खोज्ने भयो । शान्तिपूर्ण रूपले खोजिरहनुभएको छ जुन लोकतन्त्रको लागि एकदमै राम्रो हो । किनभने एउटा केन्द्रित शक्तिले मात्र केही न केही गर्‍यो भने त्यति राम्रो हुँदैन । शक्ति विभाजित हुनुपर्छ ।

एमाले र त्यसका महासचिव शंकर पोखरेलले दुईदलीय व्यवस्था प्रणाली हुनुपर्छ भनेर वकालत गरेका थिए । अध्यक्ष ओलीले पनि मान्यता दिए त्यो तर्कलाई । चुनावले त्यसलाई बलियो बनायो कि शक्ति झन् छरियो ?

दुईदलीय व्यवस्था हुनुपर्छ भन्ने कुरा पटक–पटक देख्छु जुन अयोग्य देख्छु । उदाहरणका लागि अमेरिका र बेलायतमा दुईदलीय प्रणाली छ । त्यो ठिक छ । दुई दलीयमा दलभित्र कुनै नयाँ मान्छे नयाँ एजेन्डा लिएर आयो भने ८ वर्षमा स्थापित हुन पाउने कि नपाउने !

बाराक ओबामा राष्ट्रपति हुनुभन्दा १२ वर्षअघि कहाँ थिए कसैलाई थाहा छैन । उनले नयाँ एजेन्डा लिएर आएपछि दल हुँदै पछि राष्ट्रपति समेत हुन सफल भए । नेपालमा पनि दुईदलीय व्यवस्था चाहियो भनेर एकै व्यक्ति ३०औं वर्षसम्म एकै शक्तिमा घुमेर बसिराख्नुपर्ने !

यहाँ एमालेभित्र नितान्त नौलो एक जना ३० वर्षको युवा नयाँ एजेण्डा लिएर आयो भने पार्टीभित्रको चर्चित भएको आधारमा उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन पाउने कि नपाउने ? त्यो सबै ब्लक गर्ने अनि चाहियो पार्टी प्रणाली त्यो मिल्दैन । किनभने अल्टिमेट पार्टीहरूले समाजमा उठिरहेका एजेन्डा, इच्छा र आकांक्षालाई सम्बोधन गर्ने त हो त्यो हुनुपर्‍यो ।

उसोभए नयाँ उदाउँदै गरेको पार्टीबाट सशंकित हुनुपर्दैन । यद्यपि त्यस्तो अवस्था आयो भने जनमतले ठिक पार्छ । र ठूला दलहरूलाई सकेदेखि सुध्रिने मौका, सन्देश र सच्चिएनन् भने जनतासँग विकल्प छँदैछ भन्ने कुरा बुझ्न सकिन्छ ?

नयाँ पार्टीसँग कोही डराउनुपर्दैन । लोकतन्त्रमा दायाँ–बायाँ गर्‍यो भने नेपाली समाजले पुल्पुल्याएर केही समयसम्म राख्न सक्लान् तर, लोकतन्त्रमाथि घात नै गर्ने हो भने जनताले फु गरेर उडाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?